मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

चितवन, २७ चैत – चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ ।पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाँै जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताए ।“सडक निर्माण भएको स्थानमा समस्या छैन, नेपालले भने, पुलको मुखमा दुई वटा गाडी नछिर्दा हिजोआज पनि घण्टाँै जामको पीडा छ ।” सडक र पुलसँगसँगै नबनाउँनाले समस्या परेको उनी बताउछन । नारायणगढ मुग्लिन सडकको करीब ३४ किलोमिटर क्षेत्रमा सडक चौडा पार्ने काम अहिले जारी छ । उक्त सडकमा १८ वटा पुल पर्छन् ।त्यसमध्ये साना लगानीको खानीपुल, मौरीपुल, दासढुंगापुल र जलवीरे पुल नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले नै बनाउन थालेको छ । बाँकी १४ स्थानमा पुल निर्माण हुन सकेको छैन । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल अप्ठेरा पुल निर्माण हुन नसक्दा सडक जामको समस्या भने रहेको प्रतिक्रिया दिन्छन ।“बाटो ११ मिटरको छ, पुल साढे पाँच मिटरको छ, खनालले भन्नुभयो, त्यस्ता पुलमा दुईवटा गाडी जानै मान्दैनन् ।” मुख्यगरी मुग्लिनदेखि जलविरेसम्मको सात किलोमिटर अझै सास्ती छ । सडक निर्माणको काम पनि सो क्षेत्रमा बाँकी नै छ ।मुग्लिनबाट आउँदाको चार वटा पुल साँघुरा छन् । त्यसमध्य ३ नम्बर पुल भने अति जोखिमपूर्ण र साँघुरो छ । त्यही पुलमा बढी जाम हुँदा तीन/चार किलोमिटर परसम्मै गाडी रोकिन्छन् । सबै पुल निर्माण नहुँदासम्म भने यात्रुले सास्ती पाउने पक्का छ । एक त साँघुरो पुलले जाम पर्नुपर्ने र अर्काे माथिबाट खस्ने पहिरोको उत्तिकै जोखिम हुँदा यात्रु दोहोरो जोखिममा परेको एकजना यात्रु सूर्य अधिकारी बताउछन ।नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार सडक निर्माणको काम भने करीब ८८ प्रतिशत सम्पन्न भएको छ । करीब ३४ किलोमिटरमध्ये २८.२ किलोमिटर कालोपत्रे भइसकेको नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर खनाल बताउछन । उनले आगामी वैशाख १५ सम्ममा सबै सक्ने गरी काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?