काठमाडौं। इंग्लिश प्रिमियर लिगको सन् २०२१/२२ सिजनअन्तर्गत शनिवार खेलिएको खेलमा लिभरपुलले बर्नलीलाई २-० गोलले पराजित गरेको छ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा खेलिएको खेलमा घरेलु टोलीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा एक गोल गर्न सफल भएको थियो। करिब ५२ हजार दर्शक माझ खेलिएको खेलमा लिभरपुलले १८औं मिनेटमा अग्रता लिएको थियो।

फूल ब्याक कोस्तास सिमिकासको पासमा स्ट्राइकर डिएगो जोटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलिएका थिए। पहिलो हाफको २७औं मिनेटमा लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाहले लिभरपुलको अग्रता दोब्बर बनाए। तर उनले गरेको गोललाई ‘भीएआर’ले अफसाईड घोषित गरेको थियो।
पहिलो हाफमा १-० गोलले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा अर्को गोल थप्यो। खेलको ६९औं मिनेटमा घरेलु टोलीका अर्का फूल ब्याक ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको पासमा स्ट्राइकर साडियो मानेले गोल गर्दा लिभरपुलको अग्रता दोब्बर भएको थियो।

पुरै खेलमा ६७ प्रतिशत बल पोसेसन आफ्नो कब्जामा राख्दै कुल २७ शट प्रहार गर्न सफल लिभरपुलको अगाडि बर्नली निरिह देखिएको थियो। यस जितसँगै लिभरपुलले नयाँ सिजनको सुरुवाती दुई खेलमा ६ अंक प्राप्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया