काठमाडौं। युरोपेली क्लब फुटबलमा नयाँ सिजन सुरु भइसकेको छ। इंग्लिश प्रिमियर लिग, स्पेनिश ला-लिगा, जर्मन बुन्डेस लिगा तथा फ्रेन्च लिग-१ को सन् २०२१/२२ सिजन सुरु भइसक्दा इटालियन सिरी-ए सुरु हुने क्रममा छ।
फुटबल समर्थकलाई क्लब फुटबलको आगमनले नयाँ जोश र उत्साह छाएको छ। नछाओस पनि कसरी ? नयाँ सिजन अर्थात्, नयाँ जर्सी, नयाँ खेलाडी र उपाधि जित्ने नयाँ उद्देश्य। त्यसमाथि अहिले सरुवा बजार खुल्ला रहेको अवस्था छ। र यस सरुवा बजारमा अरुबेला भन्दा निकै अप्रत्याशित तथा महँगा कारोबार समेत भएका छन्। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बार्सिलोना छाडेर अन्य कुनै क्लबबाट फुटबल खेल्ने कुरा केही समय अगाडिसम्म पनि अपत्यारो लाग्थ्यो। तर अहिले उनी पीएसजीका खेलाडी भइसकेका छन्।

पीएसजीले यस सरुवा बजारमा बार्साका कप्तान मात्र अनुबन्ध गरेन, रियल मड्रिडका कप्तान तथा प्रमुख रक्षक सर्जियो रामोस पनि क्लबमा भित्र्यायो। त्यस्तै, गत सिजन इन्टर मिलानलाई एक दशक पछि इटालियन सिरी-ए उपाधि जिताउन प्रमुख भूमिका खेलेका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु एक दशक पछि फेरि इंग्लिश क्लब चेल्सी पुगेका छन्।
सरुवा बजारको कारोबारको कुरा उठिरहेको बेला म्यानचेस्टर सिटीको कुरा नआउने त कसरी हुन्थ्यो र। सिटी यस पटकको सरुवा बजारमा अरु बेला जस्तो सक्रिय नदेखिए पनि उसले इंग्लिश स्टार खेलाडी ज्याक ग्रीलिशलाई १०० मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको छ। म्यान्चेस्टरकै अर्को क्लब म्यानचेस्टर युनाइटेडले पनि यस पटक सरुवा बजारमा दुई विश्वविख्यात खेलाडी किनिसकेको छ। युनाइटेडले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट इंग्लिश विङ्गर जेडन सान्चो तथा रियल मड्रिडबाट फ्रेन्च रक्षक राफाएल भरानलाई अनुबन्ध गरेको छ।

सरुवा बजारको म्याद अन्त्य हुन अझै दुई साता बाँकि नै छ। म्यान्चेस्टर सिटीले टोटनह्यामबाट ह्यारी केनलाई अनुबन्ध गर्ने प्रयास पनि जारी नै छ। त्यस्तै क्रिस्टियानो रोनाल्डो र कीलियन एमबाप्पेको भविष्यमा पनि अझै प्रश्न चिन्ह लागेको छ। यद्यपि ट्रान्सफर मार्केटले यस सिजनको शीर्ष पाँच लिगको सबैभन्दा महँगा खेलाडीको सूची सार्वजनिक गरेको छ।
सरुवा बजारमा विशेष फोकस गर्ने फुटबल वेबसाइट ट्रान्सफर मार्केटले हरेक पोजिसनमा त्यस लिगकै सबैभन्दा धेरै मूल्य रहेको खेलाडीलाई राखी ४-३-३ फर्मेसनको सुरुवाती ११ सार्वजनिक गरेको छ। ट्रान्सफर मार्केट अनुसार युरोपका शीर्ष पाँच लिगका सर्वाधिक महँगा खेलाडी यस प्रकार रहेका छन्।

इंग्लिश प्रिमियर लिग
इंग्लिश प्रिमियर लिगको सर्वाधिक महँगा खेलाडीमा साविक विजेता म्यान्चेस्टर सिटीका चार खेलाडी रहेका छन्। सिटीका रक्षक रुबेन डियास, मिडफिल्डरद्वय रोड्री र केभिन डे ब्राईन तथा फरवार्ड रहिम स्टरलिङ यस सूचीमा पर्न सफल भएका छन्।
त्यस्तै लिभरपुलका गोलरक्षक एलिसन सहित डिफेन्डर ट्रेन्ट, भ्यान डाइक र एन्डी रोबर्टसन पनि यस सूचीमा सम्मिलित छन्। म्यान्चेस्टर युनाइटेडबाट मिडफिल्डर ब्रुनो तथा नयाँ फरवार्ड जेडन सान्चो पनि प्रिमियर लिगमा महँगा खेलाडीको सूचीमा परेका छन्। यस सूचीको स्ट्राइकरमा भने टोटनह्यामका ह्यारी केन रहेका छन्।

सूचीमा पर्न नसकेका केही ठूला नाम
मोहम्मद सलाह, हयुङ मिन सन, रोमेलु लुकाक, ह्यारी मगवायर र ज्याक ग्रिलिश
फ्रेन्च लिग-१
यस पटकको सरुवा बजारमा पीएसजीको दबदबा कायमै छ। फ्रेन्च लिग-१ को सर्वाधिक महँगा खेलाडीको सूचीमा पीएसजीको वर्चस्व रहेको छ। महँगा खेलाडीको ११ मध्ये ९ खेलाडी पनि पीएसजीबाटै रहेका छन्। पीएसजीबाट नरहेका खेलाडीमा रेनेका मिडफिल्डर एडुवार्डो कामाभिंगा र मार्सेलका मिडफिल्डर बाउबाकर कमारा रहेका छन्।
पीएसजीका नयाँ खेलाडीहरु गोलरक्षक डोनारुम्मा, राईट ब्याक असरफ हाकिमी तथा फरवार्ड लियोनल मेस्सी सबै यस सूचीमा सम्मिलित छन्। त्यस्तै पीएसजीका फरवार्डद्वय किलियन एमबाप्पे र नेयमार पनि यस सूचीमा परेका छन्।

सूचीमा पर्न नसकेका केही ठूला नाम
सर्जियो रामोस, जर्जिनियो वाइनाल्डम, माउरो इकार्डी, दिमित्री पाएट र हसिम औरार
जर्मन बुन्डेस लिगा
जर्मन बुन्डेस लिगाको महँगा खेलाडीको सूचीमा साविक विजेता बायर्न म्युनिखकै वर्चस्व रहेको छ। यस सूचीमा ११ मध्ये ९ खेलाडी बायर्नका रहँदा २ खेलाडी बोरूसिया डर्टमन्डबाट रहेका छन्।
डर्टमन्डका इंग्लिश युवा स्टार जुड बेलिङघाम र स्ट्राइकर अरलिङ हाल्यान्ड बाहेक सबै पोजिसनमा बायर्नकै खेलाडी रहेका छन्।

सूचीमा पर्न नसकेका केही ठूला नाम
रोबर्ट लेवान्डोस्की, मार्को रुइस, लेरोय साने, थोमस मुलर र आन्द्रे सिल्भा
स्पेनिश ला-लिगा
स्पेनिश ला-लिगाको आकर्षण पछिल्लो समयमा कम हुँदै गएको देखिन्छ। क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको बहिर्गमन भएसँगै ला-लिगाले सो स्तरको आकर्षण प्राप्त गर्न सकेको छैन।
यद्यपि ला-लिगाको सर्वाधिक महँगा खेलाडीमा युवा देखि विशविख्यात खेलाडी सबै सम्मिलित छन्। बार्साका युवा स्टार पेड्री, रियल सोसीड्याडका ओयरजबल र एथ्लेटिको मड्रिडका मार्कोस लोरेन्टे यस सूचीमा सम्मिलित छन्।

सूचीमा पर्न नसकेका केही ठूला नाम
करिम बेन्जेमा, लुइस सुआरेज, थिबाउ कोर्टवा, टोनी क्रुस, लुका मोड्रीच, एन्टोइन ग्रिजम्यान र जाओ फेलिक्स
इटालियन सिरी-ए
रोमेलु लुकाकु इन्टर मिलानबाट चेल्सी गएसँगै इटालियन सिरी-एमा एक विश्वविख्यात खेलाडीको कमी महसूस भएको छ। यद्यपि सिरी-एमा महँगा तथा विश्वविख्यात खेलाडीको कमी भने छैन। भर्खरै सम्पन्न युरो कप २०२० को विजेता इटालीको घरेलु लिगमा युरो विजेता टोलीबाट धेरै खेलाडी व्यावसायिक फुटबल खेल्ने गर्दछन्। र यस सूचीमा पनि युरो विजेता लोरेन्जो इन्सिन्या, फेडेरिको किएसा र निकोला बरेला सम्मिलित छन्।
त्यस्तै एसी मिलानबाट तीन, इन्टर मिलानबाट चार र युभेन्टसबाट दुई खेलाडी यस सूचीमा रहेका छन्। इटालियन लिगमा खेल्ने महँगा खेलाडीमा लाजियो र नापोलीबाट समान एक-एक खेलाडी रहेका छन्।

सूचीमा पर्न नसकेका केही ठूला नाम
क्रिस्टियानो रोनाल्डो, अलभारो मोराटा, पाउलो डिबाला, जलाटान इब्राहिमोभिच र ड्रिस मर्टेन्स
सन् २०२१/२२ गृष्मकालीन सरुवा बजार अन्त्य हुँदासम्म यस सूचीमा पनि परिवर्तन आउन सक्ने सम्भावना रहेको छ। यद्यपि नयाँ सिजनको सुरुवातसँगै हालको लागि युरोपका सर्वाधिक महँगा खेलाडी यी नै हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया