काठमाडौं। पुरुष फुटबल अन्तर्गत स्वर्ण पदकको लागि आज (शनिवार) साविक विजेता ब्राजिल र स्पेन आमने सामने हुँदैछन्।
टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबल विधातर्फ बलिया र दावेदार मानिएका दुई टोली, ब्राजिल र स्पेन अन्ततः फाइनलमा प्रतिस्पर्धा गर्न तयार देखिन्छन्। सेमी फाइनल खेलमा ब्राजिलले मेक्सिको र स्पेनले आयोजक राष्ट्र जापानलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएका थिए।

रियो ओलम्पिक २०१६ को स्वर्ण पदक विजेता ब्राजिललाई आजको फाइनल खेल जित्दै आफ्नो स्वर्ण पदक कायम राख्ने सुवर्ण मौका मिलेको छ। त्यस्तै सन् २०१२ लन्डन ओलम्पिकमा रजत पदक जितेको ब्राजिलले ओलम्पिक फुटबलमा यो लगातार तेस्रो पटक फाइनल खेल खेल्न गइरहेको छ।
उता स्पेनको लागि आजको फाइनल खेल उत्तिकै महत्वपूर्ण रहेको छ। सन् १९९२ बार्सिलोना ओलम्पिकमा पछिल्लो पटक फुटबलमा स्वर्ण पदक जितेको स्पेन लगभग तीन दशक पछि ओलम्पिकमा स्वर्ण पदकको दाउमा मैदान प्रवेश गर्नेछ।
टोकियो ओलम्पिकमा स्पेनको स्वर्ण पदक जित्ने चाहना उसको टिमले नै प्रष्ट बताउँछ। युरो कप २०२० मा सेमी फाइनलसम्मको यात्रा गरेको स्पेनले टोकियो ओलम्पिकमा युरो खेलेका ६ जना खेलाडी समावेश गरेको छ। गोलरक्षक उनाई सिमोन, रक्षकद्वय पाउ टोरेस र एरिक गार्सिया, मिडफिल्डर पेड्री तथा फरवार्ड ड्यानी ओल्मो र मिकेल ओयरजाबाल स्पेनको ओलम्पिक टोलीबाट खेल्दैछन्।

युरो कप २०२० मा उत्कृष्ट युवा खेलाडी घोषित भएका पेड्री ओलम्पिकमा पनि शानदार फुटबल खेलिरहेका छन्। यी खेलाडी बाहेक पनि स्पेनले ओलम्पिकमा केही ठूला नामहरुलाई समावेश गरेको छ। जसमा रियल मड्रिडका मिडफिल्डरद्वय ड्यानी सेबायोस र मार्को एसेन्सियो समावेश गरिएका छन्। त्यस्तै वुलभ्सका राफा मिर, टोटनह्यामले भर्खरै भित्र्याएको बृयान गिल लगायतका स्टार खेलाडी स्पेनको टोलीमा सम्मिलित छन्।
उता ब्राजिलको टोलीमा पनि स्टार खेलाडीको कमी छैन। २३ वर्षको उमेर समुह भन्दा माथिका ३ खेलाडीमध्ये ब्राजिलले भेट्रान खेलाडि ड्यानी एलभेसलाई टोलीमा समावेश गरेको छ। त्यस्तै एलभेसलाई साथ दिन डिफेन्समा ब्राजिलले सेभिया क्लबका डिएगो कार्लोसलाई पनि समावेश गरेको छ।
मिडफिल्डमा ब्राजिलले इंग्लिश क्लब एस्टन भिल्लाका डगलस लुइजलाई भरोसा गरेको देखिन्छ। कोपा अमेरिका २०२१ मा ब्राजिलको प्रतिनिधित्व गरेका लुइजसँगै अर्का स्टार खेलाडी रिचारलिसन पनि ब्राजिलको टोलीमा सम्मिलित छन्। त्यस्तै आर्सनलका युवा फरवार्ड ग्याब्रियल मार्टिनेल्ली र बार्सिलोनाका पूर्व विंगर मालकोमले पनि ब्राजिलको स्वर्ण पदक सपनाको लागि डटेर खेल्नेछन्।

ओलम्पिक फुटबल पुरुष फाइनल
ब्राजिल अण्डर-२३ विरुद्ध स्पेन अण्डर-२३
नेपाली समय: साँझ ५:१५
स्थान: निसान स्टेडियम
रोड टू फाइनल
ब्राजिल अण्डर-२३

समूह चरण
जर्मनी अण्डर-२३ ४-२
आइभरी कोस्ट अण्डर-२३ ०-०
साउदी अरेबिया अण्डर-२३ ३-१
क्वार्टर फाइनल
इजिप्ट अण्डर-२३ १-०
सेमी फाइनल
मेक्सिको अण्डर-२३ ०-०
पेनाल्टी शूट-आउट ४-१
स्पेन अण्डर-२३

समूह चरण
इजिप्ट अण्डर-२३ ०-०
अस्ट्रेलिया अण्डर-२३ १-०
अर्जेन्टिना अण्डर-२३ १-१
क्वार्टर फाइनल
आइभरी कोस्ट अण्डर-२३ ५-२
सेमी फाइनल
जापान अण्डर-२३ १-०
प्लेयर्स टू वाच

ब्राजिल अण्डर-२३: रिचारलिसन
स्पेन अण्डर-२३: पेड्री
यस अघि ओलम्पिकको नतिजा
रियो ओलम्पिक २०१६

स्वर्ण: ब्राजिल
रजत: जर्मनी
काश्य: नाइजेरिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया