काठमाडौं। अखिल नेपाल फुटबल संघ ‘एन्फा’ कार्यालय आज (शुक्रबार) व्यस्त रहने छ।
पछिल्लो समय निकै विवादित बनेको एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र नेपाली फुटबलका राष्ट्रिय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको मनमुटाव बारे आज एन्फा कार्यालयमा आपातकालीन बैठक बस्दैछ। प्रशिक्षक अल्मुताइरी र उपाध्यक्ष नेम्बाङबीच आरोप प्रत्यारोप चलिरहेको अवस्थामा सो विषयलाई साम्य बनाउन एन्फाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

गत आइतवार अचानक प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जाल मार्फत राजीनामा घोषणा गरे। उनले नेपाली फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा घोषणा मात्र गरेनन्, त्यसको कारण पनि उल्लेख गरे। त्यो कारण नै थियो जसले एकाएक नेपाली फुटबल जगतलाई अचम्मित बनायो। अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई फेसबुक स्ट्याटसमा ट्याग गरेर उनको कारणले राजीनामा दिन बाध्य भएको बताए।
यता नेपाली फुटबलले काँचुली फेरिरहेको अवस्था छ। २०७७ चैत्र महिनामा नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेर नेपाल आएका अल्मुताइरीले आफ्नो पहिलो पत्रकार सम्मेलनमा नै सबैको ध्यानाकर्षण गर्न सफल भएका थिए। उनले नेपाल आउनु अघि नै गरेको नेपाली खेलाडी र नेपाली फुटबलको गृहकार्यले सबैलाई अचम्मित बनायो। उनले तथ्याङ्कसहित नेपाली फुटबलको कमी कमजोरी औंल्याएका थिए।

नेपाली फुटबल समर्थक यसै पनि निकै भावुक समर्थकका रूपमा चिनिन्छन्। राष्ट्रिय फुटबलबाट सधैं धेरै अपेक्षा राखेका नेपाली फुटबल समर्थकले आशालाग्दो नतिजा भने पाउन सकेका छैनन्। यसै सन्दर्भमा कुरा आउँछ साफ च्याम्पियनशिप फुटबलको। दुई पटक साफ च्याम्पियनशिपमा सेमी फाइनलको यात्रा तय गरिसकेको नेपालले फाइनलको स्वाद भने अझै चाख्न पाएको छैन। त्यही तृष्णा मेट्न नेपाली समर्थकले देखेको सपना साकार पार्ने आशा बनेका छन् अल्मुताइरी। उनको कार्यकालमा नेपालले मात्र चार खेल खेलेको छ। चार मध्ये तीन खेलमा पराजय पनि भोगेको छ। तर सो दौरान नेपाली फुटबलले लिएको दिशा र गति दुवै सकारात्मक भएको कुरा भने प्रष्ट देखिएको छ।
प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबल प्रेमीको समर्थन पाएका छन्। चार महिनाको छोटो समयमा पनि उनले नेपाली जनताको विश्वास जित्न सफल भएका छन्। यसको मुख्य कारण बनेको छ उनको सामाजिक सञ्जाल प्ल्याटफर्म। प्रशिक्षक अल्मुताइरी र नेपाली फुटबल समर्थक सामाजिक सञ्जालमा निकै भिजीसकेका छन्। राष्ट्रिय टोलीमा भइरहेका गतिविधि बारे उनले फ्यानहरुलाई सिधै जानकारी दिने गर्दछन्। उनी ‘सोसियल मिडिया फ्रेन्ड्ली’ व्यक्तित्व हुन्। र यही सोसियल मिडियामा उनले गत आइतवार आफ्नो राजीनामा घोषणा गरेका थिए। उनले पहिला सोसियल मिडियामा राजीनामा बारे स्ट्याटस अपडेट गरे, बल्ल औपचारिक निवेदन दिन एन्फातर्फ गए।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका अन्य सदस्यले उनलाई औपचारिक रूपमा राजीनामा नदिन आग्रह गरे। बरु उनलाई केही समय बिदामा बस्न सल्लाह दिए। त्यस पश्चात् उनले राष्ट्रिय टोलीको प्रशिक्षण गरेका छैनन्। आइतवार नै नेपाललाई साफ च्याम्पियनशिप आयोजना गर्न आधिकारिक प्रस्ताव आयो। कुनै अरु दिन भएको भए, यो समाचारले खुशीको माहोल छाउने थियो। तर परिस्थितिले साथ नदिँदा घरेलु मैदानमा साफ खेल्न पाउने सामाचारले सोचे जस्तो उत्साह दिएन।
साफ च्याम्पियनशिपको लागि भनेर प्रशिक्षक अल्मुताइरीले प्रारम्भिक बन्द प्रशिक्षण थालेको पनि करिब करिब एक महिना भइसकेको छ। भरपुर पूर्व तयारी, घरेलु मैदान र आत्मविश्वास, वास्तवमा नेपालले साफ उपाधिको सपना देख्ने यो उचित समय रहेको छ, तर पछिल्लो समयको परिस्थिति हेर्दा सपना फेरि सपनामै सीमित हुने होकी जस्तो देखिन्छ।

उपाध्यक्ष नेम्बाङले आफू माथि लगाइएको आरोप बारे छानबिनको माग राखे। प्रशिक्षकको आरोप झूटा रहेको र आफू दोषी भएको खण्डमा आफैंले पदबाट राजीनामा दिने बाचा गरेका छन् नेम्बाङले। अझ, उनी त आउँदो एन्फाको चुनावमा असर पर्ने गरी आफू माथि षड्यन्त्र गरिएको हो भनेर चिन्तित देखिएका छन्। उनले नेपाली फुटबल जगत माझ आफूलाई खलनायक बनाइएको र घटनाक्रमबारे छानबिन गरी दोषीलाई सजाय दिनुपर्ने माग राखेपछि एन्फाले आज आपातकालीन बैठक बोलाएको हो।
उता प्रशिक्षक अल्मुताइरी पनि कहाँ चुपचाप बस्थे र? अल्मुताइरीले प्रशिक्षक नेम्बाङलेसँगै दुई पत्रकारलाई पनि सम्मिलित गरी छानबिनको माग गरे। समग्रमा भन्नु पर्दा यी दुईबीचको टक्करको शिकार बनेको छ नेपाली फुटबल।

यो टक्कर र एन्फा भित्रको आन्तरिक राजनीतिमा अल्झिएको नेपाली फुटबलको गाँठो, आजको बैठकले फुकाउने छ, नेपाली समर्थकले चाहेको एकमात्र निष्कर्ष यही नै हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया