काठमाडौं। युरो कप र कोपा अमेरिका अब मात्र यादमा सिमित छन्। ओलम्पिक फुटबलबाहेक अन्य शीर्ष तहका फुटबल गतिविधि लगभग न्यून अवस्थामा रहेको छ।
विश्वभरिका फुटबल प्रेमी सन् २०२१/२२ लिगको पर्खाइमा छन्। अझै, गत सिजन युरोपका धेरै लिगमा अप्रत्यासित क्लबहरुले उपाधि उचाल्दा यस सिजनको उत्सुकता झन् बढेको देख्न सकिन्छ। त्यस्तै युईएफए च्याम्पियन्स लिग र युईएफए युरोपा लिगको उपाधि क्रमशः इंग्लिश क्लब चेल्सी र स्पेनिश क्लब भिल्लारियलले जित्नु पनि धेरै फुटबल समर्थकको लागि अप्रत्याशित नतिजा रहेको थियो।

गत सिजन इंग्लिश प्रिमियर लिगमा साविक विजेता लिभरपुललाई पाखा लगाउँदै म्यान्चेस्टर सिटीले उपाधि उचाल्यो। त्यस्तै स्पेनिश ला-लिगामा एथ्लेटिको मड्रिड आठ वर्षपछि लिग विजेता बन्न सफल भयो। फ्रेन्च लिग-१ मा त झन् लिलले पीएसजीको दबदबा तोड्दै एक दशकपश्चात् उपाधि उचाल्न सफल भयो। इटालियन सिरी-एमा पनि इन्टर मिलानले दश वर्षको उपाधि तृष्णा मेट्न सफल भएको थियो।
आउँदो २०२१/२२ सिजन अर्को कारणले पनि महत्वपूर्ण रहेको छ। यस सिजन हामीले समर्थकलाई पुन: रंगशालामा देख्न सक्नेछौं। कुनै पनि खेलमा समर्थकको उपस्थितिले अतुलनीय योगदान दिने गर्दछ। झन् फुटबलमा त समर्थकलाई १२औं खेलाडीका रूपमा नै लिइन्छ।

सन् २०२१/२२ सिजनको प्रतीक्षामा फुटबल समर्थकहरू दिन गन्दै बसिरहेको अवस्थामा छन्। खुशीको कुरा, नयाँ सिजनको उल्टो गिनती सुरु भइसकेको छ।
ला-लिगा
गत सिजन विजेता: एथ्लेटिको मड्रिड
दोस्रो स्थान: रियल मड्रिड
तेस्रो स्थान: बार्सिलोना

ला-लिगा सान्टान्डरको नयाँ सिजन अगस्ट १३, शुक्रबारदेखि सुरु हुँदै छ। पहिलो खेलमा भ्यालेन्सिया र गेटाफे प्रतिस्पर्धा गर्दै छन्।
च्याम्पियन एथ्लेटिको मड्रिडले आइतवार सेल्टा भिगोसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ भने रियल मड्रिड आलाभेससँग अवे मैदानमा आमने सामने हुनेछ। बार्सिलोनाले भने घरेलु मैदानमा रियल सोसिड्याडसँग प्रतिस्पर्धा गर्नेछ।
प्रिमियर लिग
गत सिजन विजेता: म्यानचेस्टर सिटी
दोस्रो स्थान: म्यानचेस्टर युनाइटेड
तेस्रो स्थान: लिभरपुल

इंग्लिश प्रिमियर लिग पनि ला-लिगा जस्तै अगस्ट १३ मा ‘किकअफ’ हुँदैछ। पहिलो खेलमा च्याम्पियनसिपबाट बढुवा भएर प्रिमियर लिग आइपुगेको ब्रेन्टफर्डले आर्सनललाई स्वागत गर्दैछ।
च्याम्पियन म्यान्चेस्टर सिटीको उपाधि बचाउ सिजनमा पहिलो भेट नै टोटनह्यामसँग रहेको छ। सिटीलाई उत्तरी लन्डनको यात्रा सजिलो पटक्कै पनि हुनेछैन। त्यस्तै म्यानचेस्टर युनाइटेडले आफ्नो पहिलो खेलमा पुरानो प्रतिद्वन्दी लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ। युरोपियन च्याम्पियन चेल्सीले लन्डनकै प्रतिद्वन्दी क्रिस्टल प्यालेसलाई होस्ट गर्दैछ भने लिभरपुल बढुवा भएर आएको क्लब नर्विचको यात्रा गर्दैछ।
बुन्डेसलिगा
गत सिजन विजेता: बायर्न म्युनिख
दोस्रो स्थान: आरबी लाइपजिग
तेस्रो स्थान: बोरुसिया डर्टमन्ड

च्याम्पियन बायर्न म्युनिखले अगस्ट १३, शुक्रवार बुन्डेस लिगको नयाँ सिजनको पहिलो खेल खेल्दैछ। बायर्नले पहिलो खेलमा बोरुसिया मोच्नेनग्लाडब्याचको भ्रमण गर्नेछ।
त्यस्तै बोरुसिया डर्टमन्डले आइन्टराक्ट फ्रान्कफर्टलाई स्वागत गर्नेछ भने वुल्फ्सबर्गले बोचुमसँग पहिलो खेल खेल्नेछ। आरबी लाइपजिगको प्रतिस्पर्धा भने माइन्जसँग उसैको घरेलु मैदानमा हुनेछ।
लिग-१
गत सिजन विजेता: लिल
दोस्रो स्थान: पीएसजी
तेस्रो स्थान: मोनाको

फ्रेन्च फुटबलको नयाँ सिजन अरु युरोपियन लिग भन्दा अघि नै सुरु हुँदै छ। आइतवार, अगस्ट ८ मा रेने र लेन्सबीचको प्रतिस्पर्धाले फ्रान्सको नयाँ लिगको उद्घाटन गर्नेछ।
पीएसजीको सिजनको सुरुवात ट्रोयेसँगको प्रतिस्पर्धाबाट हुँदैछ भने च्याम्पियन लिल मेट्जसँग अवे खेलमा भिड्दै छ। मार्सेलाई मोन्टपिलियरले सुरुवाती खेलमा स्वागत गर्दै छ भने ल्योन र ब्रेस्ट पनि आमने सामने हुँदै छन्।
सिरी-ए
गत सिजन विजेता: इन्टर मिलान
दोस्रो स्थान: एसी मिलान
तेस्रो स्थान: एटलान्टा

इटालियन सिरी-ए अरु युरोपियन लिग भन्दा ढिला सुरु हुँदै छ। अगस्ट २१, शनिवार पहिलो खेलमा च्याम्पियन इन्टर मिलानले जेनोवालाई स्वागत गर्दै छ।
एटलान्टाले पहिलो खेलको लागि टोरिनोसँग प्रतिस्पर्धा गर्न ट्युरिनको यात्रा गर्दै छ भने एसी मिलानको पहिलो खेल साम्पडोरियासँग उसैको घरेलु मैदानमा रहेको छ। गत सिजन बिर्सनयोग्य फुटबल खेलको युभेन्टसको पहिलो खेल उडिनेजेसँग रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया