काठमाडौं। टोकियो ओलम्पिक २०२० शुक्रवारबाट औपचारिक रूपमा शुरु भएको छ।
टोकियोस्थित नेशनल स्टेडियममा भव्य उद्घाटन समारोह गर्दै जापानिज सम्राट नारुहिटोले खेलकुदको महाकुम्भ तथा ३२औं ओलाम्पियार्ड टोकियो ओलम्पिक औपचारिक रूपमा खुल्ला गरिएको धोषणा गरे। तर ओलम्पिकको शुरुवात ‘ओलम्पिक कलड्रोन’मा दिप जलाएपछि हुने गर्दछ। र यस पटक सो अवसर पाइन् जापानिज टेनिस सुपरस्टार नाओमी ओसाकाले।

कुनै पनि खेलाडीको लागि ‘ओलम्पिक कलड्रोन’ जलाउने जस्तो मौका अवश्य पनि निकै महत्वपुर्ण हुने गर्दछ। नाओमीलाई पनि ओलम्पिक कलड्रोन बाल्ने जिम्मेवारी आफ्नो करियरकै सबैभन्दा सौभाग्यपूर्ण क्षण बनेको छ। “मेरो खेलकुद करियरको यो सबैभन्दा महत्वपूर्ण क्षण हो, यसलाई जीवनभर भुल्नेछैन”, ओसाकाले सामाजिक सञ्जालमा लेखेकी छिन्।
आखिर को हुन् नाओमी ओसाका ? पछिल्लो समयमा ख्याति प्राप्त टेनिस खेलाडी तथा टोकियो ओलम्पिक २०२० को कलड्रोन बालेर इतिहास रचेकी नाओमीका बारे केही थप जानकारी।
ओसाका परिवार

२३ वर्षीय नाओमीका बुवा हाईटियन नागरिक लियोनार्ड फ्रानकोइस हुन्। उनकी आमा जापानी नागरिक तामाकी ओसाका हुन्। नाओमीको जन्म जापानको ओसाका सहरमा भएको थियो। उनको परिवारका साथ उनी तीन वर्षको उमेरमा नै संयुक्त राज्य अमेरिका प्रस्थान गरिन्।
नाओमीकी दिदी मारी ओसाकाले पनि मार्च २०२१ सम्म व्यावसायिक रूपमा टेनिस खेल्ने गरेकी थिइन्। दुवै दिदी बहिनीले आफ्नो आमाको अन्तिम नाम लिएर जापानको लागि टेनिस खेल्ने निर्णय गरेका हुन्।
टेनिसमा नाओमी

१५ वर्षीय नाओमिले सन् २०१३ को महिला टेनिस एसोसिएसनमा डेब्यू गरेकी थिइन्। अहिले उनी विश्व वरीयतामा दोस्रो नम्बरमा छिन्। उनी भन्दा माथि अस्ट्रेलियाकी एशली बार्टी मात्र रहेकी छिन्।
ओसाका ४ पटक ग्रान्ड स्ल्याम विजेता टेनिस खेलाडी हुन्। उनले सन् २०१८ र २०२० मा युएस ओपन उपाधि जितिसकेकी छिन्। त्यस्तै, सन् २०१९ र २०२१ मा ओसाकाले अस्ट्रेलियन ओपन उपाधि पनि जितेकी छिन्। विश्वविख्यात टेनिस सुपरस्टार सेरेना विलियम्ससँग ओसाकाको रेकर्ड ३-१ को रहेको छ।
मानसिक स्वास्थ्यमा जोड

टोकियो ओलम्पिक २०२० भन्दा पहिले ओसाका हेडलाइनमा आइन्। फ्रेन्च ओपन २०२१ बाट नाम फिर्ता लिएकी ओसाकाले ट्वीटर मार्फत कुनै पनि प्रेस कन्फरेन्स नगर्ने जानकारी दिएकी थिइन्।
“मिडियाले खेलाडीको मानसिक स्वास्थ्यलाई मतलब नगर्ने भएको कारणले गर्दा म रोलाण्ड गारोसमा कुनै पनि प्रेस कन्फरेन्समा सहभागी हुँदिन”, उनको ट्वीट थियो। यसको चौतर्फी आलोचना भएपछि ओसाकाले फ्रेन्च ओपनबाट आफ्नो नाम नै फिर्ता लिएकी थिइन्। त्यस लगत्तै उनले विम्बेल्डन प्रतियोगिताबाट पनि आफ्नो नाम फिर्ता लिइन्।
टोकियो ओलम्पिक ओसाकाको यता २ महिनाकै पहिलो प्रतियोगिता हुनेछ।
इतिहास माथि इतिहास

मात्र २३ वर्षको उमेरमा ओसाकाले कोर्ट भित्र र बाहिर, दुवैमा इतिहास रच्दै आएकी छिन्।
भर्खरै ओसाकाले कोर्ट बाहिर एउटा इतिहास रचिन्। उनले ‘स्पोर्ट्स इलस्ट्रेटेड स्विमसुट’ म्यागजिनको कभर पेजमा आएर इतिहास रचेकी हुन्। यस म्यागजिनको ६० वर्षीय इतिहासमा कभर पेजमा पर्ने नाओमी पहिलो अश्वेत महिला खेलाडी बनेकी हुन्।
नाओमीको आफ्नै ‘नेटफ्लिक्स सिरिज’

यसै महिनाको शुरुवातमा अनलाइन प्ल्याटफर्म नेटफ्लिक्समा ‘नाओमी ओसाका’ नामक डकुमेन्ट्री सिरिज रिलिज गरियो। तीन भागमा बनाइएको सो डकुसिरिज नाओमीको ग्रान्ड स्ल्याम र ‘ब्ल्याक लाईभ्स म्याटर’ मुभमेन्टमा केन्द्रित रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया