गोलभेंडामा डढुवा रोगको सक्रमण, कृषक चिन्तित

पर्वत, ९ चैत । लामो खडेरी पछिको वर्षासँगै गोलभेँडामा डढुवा रोगको संक्रमण देखिएपछि जिल्लाका कृषक चिन्तित बनेका छन् ।लटरम्म फलेर पाक्ने समयका गोलभेँडाका पातमा कालो दाग देखिने र एक सातामै बोट मर्न थालेको किसानले बताएका छन् ।जिल्लाको मोदी, पैयुँ, जलजला गाउँपालिका र फलेवास नगरपालिकामा गोलभेँडामा डढुवाको संक्रमण देखिएको हो । बारीमा मात्रै नभएर टनेलभित्रका गोलभेँडाका बोट धमाधम मर्न थालेपछि किसान आत्तिएका छन् ।“पोहोर टनेलको गोलभेँडा बेचेर दुई लाखसम्म आम्दानी गरेको थिए,” फलेवास– ६ देवीस्थानका ओमप्रसाद भुषालले भने,– “यसवर्ष पाक्ने बेलामा सबै सखाप भयो । लगानी उठ्न पनि मुस्किल छ ।”फलेवास– ४ का थानेश्वर भुषालले डढुवा रोगको संक्रमण बढेपछि कृषि प्राविधिकको सल्लाहमा विभिन्न औषधि प्रयोग गरे पनि बोट मर्ने क्रम नरोकिएको बताए । उनले दुई महिनादेखि डढुवा रोग निको पार्न विभिन्न विषादीको प्रयोग गरेको बताए ।लाखाँै लगानी गरेर गोलभेँडाको खेती गरेका किसान डढुवा रोगका कारण निराश छन् । एउटा टनेल बनाउन रु एक लाख ५० हजारसम्म खर्च हुन्छ । दुई वर्ष लगातार डढुवा रोग लागेर गोलभेँडा मरेपछि हालसम्म लगानी जुटाउन नसकेको भुषाल बताए । खुलाबारीमा देखिएको डढुवा टनेलभित्रको गोलभेँडामा पनि फैलिएको हो ।जलजलाका रामु सुवेदीले तीन रोपनीमा लगाएको गोलभेँडामा डढुवा फैलिएको बताए । “विगतमा गोलभेँडाबाट पाँच लाखसम्म आम्दानी हुन्थ्यो,’ उनले भने, “बीउ र परिश्रम सबै खेर गयो ।” गोलभेँडाको बोट मरेपछि पारिश्रमिक उठाउन नसकेको उहाँको भनाइ छ ।जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी मौसममा थोरै फेरबदल हुने वित्तिकै गोलभेँडा र आलुमा डढुवाले आक्रमण गर्ने बताए । खुला स्थानमा लगाइएको गोलभेँडामा छिटो आक्रमण गर्ने यो रोगले टनेलभित्र पनि असर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?