काठमाडौं । ब्राजिलको राजधानी ब्राजिलियामा भोलि एउटा खेल हुनेछ, जहाँ दुई फुटबलरप्रति सबैको ध्यान केन्द्रित हुनेछ । नहोस पनि किन? ब्यावहारिक जीवनमा दुई घनिष्ठ मित्रहरु भोली आफ्नो मित्रता बिर्सिएर आफ्नो टोलीलाई विजयी बनाउन मैदानमा उत्रिदैछन् । हो, हामी मेस्सी र सुवारेजकै कुरा गर्दैछौैं ।
कोपा अमेरिका २०२१ अन्तर्गत शनिवार बिहान नेपाली समय अनुसार ५:४५ मा दुई बलिया टोली अर्जेन्टिना र उरुग्वे भिड्दै छन् । यी दुई टोली बिचको टक्कर दक्षिणी समूहकै सबैभन्दा चाखलाग्दो खेल हो।

सर्वाधिक कोपा अमेरिकाको उपाधि जित्ने टोली उरुग्वे र उसलाई पछ्याउँदै गरेको अर्जेन्टिना बिचको खेल कोपा अमेरिकामा सधैं नै महत्वपूर्ण खेलको रूपमा चिनिन्छ। १५ पटक कोपा अमेरिकाको उपाधि चुमेको उरुग्वे र उसलाई पछ्याउँदै गरेको १४ पटक कोपा विजेता अर्जेन्टिना यस संस्करणको उपाधि आफ्नो पक्षमा पार्न चाहन्छन् । यी दुई टोली कोपा अमेरिकाको सबैभन्दा सफल टोली भएपनि पछिल्लो समयमा यी दुई टोलीको दबदबा यस प्रतियोगितामा कम भएको देखिन्छ।
उरुग्वेले पछिल्लो पटक कोपाको उपाधि एक दशक अघि जितेको थियो भने अर्जेन्टिनाले त यो शताब्दीमा कोपाको उपाधि उचालेकै छैन। सन् १९९३ मा पछिल्लो पटक अर्जेन्टिना दक्षिण अमेरिकी च्याम्पियन घोषित भएको थियो ।

विश्वकै उत्कृष्ट मध्येका एक खेलाडी लियोनल मेस्सीले अर्जेन्टिनासँग कोपाको उपाधि जित्न नसक्दा उनले बारम्बार आलोचना भोग्दै आएका छन्। सन् २०१५ र २०१६ मा अर्जेन्टिनाले उप–विजेतामै चित्त बुझाउनु पर्दा मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास पनि लिएका थिए। यद्यपि उनलाई राष्ट्रिय टोलीमा पुनः फिर्ता बोलाइयो। यस संस्करणको कोपा अमेरिका मेस्सी लगायत सम्पूर्ण अर्जेन्टिनालाई अझै महत्वपूर्ण रहनेछ। अर्जेन्टिना यस संस्करणमा आफ्नो पूर्व स्टार खेलाडी म्याराडोनाको सम्झनामा उपाधिको लागि भिड्दै छ ।

कोपा २०२१ को पहिलो खेल अर्जेन्टिनालाई फापेन । चिली विरुद्धको पहिलो खेलको ३३औं मिनेटमा मेस्सीले फ्रि–किक मार्फत उत्कृष्ट गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर पछिल्ला केही खेलहरु जस्तै अर्जेन्टिनाले अग्रता जोगाउन सकेन र खेल बराबरीमा सकियो। खेल पछि निकै निराश देखिएका मेस्सी उरुग्वेविरुद्ध जितकै लागि मैदान उत्रनेछन्। त्यस्तै जितकै लागि मैदानमा उत्रनेछन् उग्वेका लुइस सुवारेज ।

मेस्सी र सुवारेज बिच घनिष्ट मित्रता छ । सन् २०१४ मा इंग्लिश क्लब लिभरपुलबाट स्पेनिश क्लब बार्सिलोना गएका सुवारेजले बार्सिलोनामा मेस्सीसँग सात वर्ष बिताए। मैदानभित्र र बाहिर यी दुई खेलाडी सधैं सँगै देखा पर्थे। अझै बिदा मनाउन पनि यी दुई खेलाडी परिवारसहित सँगै घुम्न गएको दृश्य सामान्य भइसकेको छ ।

सन् २०२१ को शुरुवातमा सुवारेजले बार्सा छाडे। सबै भन्दा दुःखी मेस्सी देखिए। बार्सिलोना छाडेर एथ्लेटिको मड्रिड गएका सुवारेजले पहिलो सिजनमै ला-लिगा उपाधि उचाले। उपाधि होडको लागि अन्तिम खेल अघि मेस्सीले उनलाई ‘अल दि वेस्ट’ भनेर मेसेज गरे। अन्ततः सुवारेजले उपाधि जित्दा मेस्सीले भने,‘उनी मेरो मित्र हुन्, म उनको लागि धेरै खुशी छु ।’
तर यो मित्रतालाई भोलिको खेलमा छेउ लगाउनु पर्ने हुन्छ। कोपा अमेरिका उपाधिको लागि दुवै राष्ट्र ‘भोको’ भएको बेला मेस्सी र सुवारेज केवल प्रतिद्वन्दी हुन्, मित्र होइनन्। मेस्सी कोपा अमेरिका उपाधि जित्न जे पनि गर्न तयार छन् र सुवारेजको कथा पनि लगभग त्यही नै हो ।

मेस्सी र सुवारेजको गजबको दोस्ती आफ्नो ठाउँमा छ । तर दुबैका लागि दोस्तीभन्दा पनि जित अझै माथि छ । किनकी,यो फुटबल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया