१६ वर्ष र ६७१ खेल पश्चात् रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लब छाड्ने पक्का

काठमाडौं। सर्जियो रामोसले रियल मड्रिड छाड्ने पक्का भएको छ।

स्पेनिश क्लब रियल मड्रिडले रामोसले क्लब छाड्ने पक्का भएको कुरा बुधवार सार्वजनिक गरेको हो। ३५ वर्षीय डिफेन्डर रामोसलाई क्लबले बिहीवार विदाईको कार्यक्रम आयोजना गर्ने कुरा पनि सार्वजनिक भएको छ।

सन् २००५ मा अर्को स्पेनिश क्लब सेभियाबाट रियल आएका रामोस रियल मड्रिडमा जब्बर डिफेन्डरका रूपमा परिचित भए। १६ वर्षसम्म उनी रियल मड्रिडको रक्षापंक्तिमा खम्बा बनेर उभिए। रियलसँगको १६ वर्षको अवधिमा रामोसले ५ ‘ला-लिगा’ उपाधि र ४ ‘च्याम्पियन्स लिग’ उपाधि पनि उचाले। सर्जियो रामोस रियल मड्रिडका ‘लेजेन्ड’ हुन्। र यो भन्न गलत हुँदैन।

क्लबका लागि ६७१ खेल खेलेका रामोसले कुल १०१ गोल गर्न सफल भए। विश्वकै उत्कृष्ट मध्येका एक रक्षक रामोस सबै भन्दा धेरै गोल गर्ने डिफेन्डरको सूचीमा पनि पर्दछन्। उनले गत मार्च महिनामा एटलान्टाविरुद्ध गरेको गोल रियल मड्रिडको लागि १०१औं र अन्तिम गोल रह्यो।

रियलसँग २ ‘कोपा डेल रे’ र ३ ‘सुपर कप’ उपाधि पनि जितेका रामोसले गत सिजन इन्जुरीका कारण धेरै खेल गुमाए। यसै जुलाई १ तारीख देखि रियलसँग रामोसको सम्झौता सक्किने हुँदा दुई पार्टी बिच नयाँ सम्झौताको कुरा पनि उठेको थियो। तर तलब र समय अवधिको कुरा नमिल्दा नयाँ सम्झौता हुन सकेन। यसरी रामोस र रियलको यात्रामा पूर्ण विराम लाग्न पुग्यो।

दुवै बक्समा उत्कृष्ट

कुनै पनि डिफेन्डरको प्रमुख काम भनेको आफ्नो ‘डि-बक्स’मा प्रतिद्वन्द्वीलाई छिर्न नदिनु हो। अर्थात् आफ्नो बक्समा डिफेन्डरले उत्कृष्ट भूमिका निर्वाह गर्नु पर्दछ। तर रामोसको अन्दाज केही बेग्लै छ। उनी आफ्नो ‘डि-बक्स’मा उत्कृष्ट भएसँगै प्रतिद्वन्दीको बक्समा पनि उत्तिकै खतरनाक सावित भएका छन्।

२१औं शताब्दीमा १०० गोल गर्न सफल रामोस एक मात्र डिफेन्डर हुन्। यस शताब्दीमा रियल मड्रिडका लागि रामोस भन्दा धेरै गोल गर्ने जम्मा ५ जना खेलाडी छन्। क्रिस्टियानो रोनाल्डो (४५०), करिम बेन्जीमा (२७९), राउल (२२५), हिगुवाइन् (११९) र ग्यारेथ बेल (१०५) ले मात्रै रियलका लागि रामोस भन्दा धेरै गोल गरेका छन्।

‘फुल ब्लडेड’ विजेता

रामोसको कुरा गर्दा उनी जंगी स्वभावका रक्षक हुन्। आफ्नो टोलीलाई जिताउन उनी प्रतिद्वन्दीमाथि लागि नै पर्दछन्। उनको बठ्याइँ र खतरनाक फलहरुको जानकारी सबै फुटबल प्रेमीलाई छ। सरल भाषामा भन्नु पर्दा उनलाई ‘स्लाई एज ए फक्स’ भन्न मिल्छ।

फलस्वरूप रामोसले रियल मड्रिडमा २१४ पहेंलो कार्ड प्राप्त गर्दा कुल २६ रातो कार्ड प्राप्त गरेका छन्। अझै २६ मध्येका ४ रातो कार्ड उनको पहिलो सिजनमै आएका हुन्। रामोसको खेल्ने तरिका जस्तो सुकै भए पनि उनी एक विजेता हुन्। यसमा कुनै दुई मत छैन। उनले रियलसँग ४३० खेलमा जित दर्ता गरेका छन्।

उनले जितेका उपाधिले उनी विजेता हुन् भन्ने बारे आँफै बताउँछ। र उनी जितको लागि जे पनि गर्छन् भन्ने उदाहरण लिभरपुलका समर्थकले दिन सक्छन। सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा मोहम्मद सालाह र उनको घटना उदाहरणको लायक छ।

उनले रियलसँग १६ वर्ष बिताउंदा १४ सिजनमा ४० भन्दा बढी खेल खेले। ऊनी सबै भन्दा कम मैदानमा उपस्थित भएको वर्ष यसै सिजन हो। सन् २०२०/२१ मा रामोसले मात्र २१ खेल खेल्न सके। यद्यपि उनी मैदानमा एक योद्धा हुन् जो जहिले पनि जितको लागि मात्र खेल्दछ।

रियल मड्रिडले सर्जियो रामोस जस्तो अर्को खेलाडी पाउनेछैन। ला-लिगामा रियलको लागि ४६९ खेल खेलेका रामोस क्लब इतिहासमै सर्वाधिक घरेलु लिग खेल्ने खेलाडीको चौथो नम्बरमा पर्दछन्।

यसरी १६ वर्ष, ६७१ खेल, १०१ गोल, २२ उपाधि र २६ रेड कार्ड पछि एउटा सुनौलो यात्रामा पूर्ण विराम लागेको छ।

 

फोट मोब बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?