काठमाडौं। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज एसियाली ‘पावर हाउस’ अस्ट्रेलियाको सामना गर्दैछ।
कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलियाविरुद्ध नेपालको खेल नेपाली समय अनुसार बेलुकी ९:४५ बजे शुरु हुनेछ। अस्ट्रेलियाविरुद्ध नेपालको जित अकल्पनीय नै छ। फिफा वरियतामा ४१औं स्थानमा रहेको अस्ट्रेलियाविरुद्ध नेपालले नतिजा भन्दा पनि आफ्नो स्तर परीक्षण गर्न खेल्ने छ।

अस्ट्रेलियाका अधिकांश खेलाडी विश्वकै ठूला लिगहरुमा व्यवसायिक फुटबल खेल्ने गर्छन्। ती मध्ये अष्ट्रेलियाका गोलरक्षक ‘म्याट रायन’ इंग्लिश क्लब आर्सनलका गोलरक्षक हुन्। त्यस्तै डिफेन्डर ‘ह्यारी सोटर’ (स्टोक सिटी), मिडफिल्डर ‘अजदिन रुस्टिच’ (फ्र्याङ्कफर्ट) र स्ट्राइकर ‘म्याथ्यु लेकि’ (हर्था बर्लिन) जस्ता खेलाडी युरोपका ठूला तथा चर्चित क्लबबाट व्यवसायिक फुटबल खेल्छन्।

यसैबिच नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको खेलमा आफ्ना युवा खेलाडीलाई डेब्यू गराउने कुरा उल्लेख गरेका छन्। बिहीवार सम्पन्न प्रि- म्याच कन्फरेन्समा अल्मुताइरीले भने, “सबै सोचेजस्तो भयो भने युवा खेलाडीलाई मौका दिनेछु।” नेपाली राष्ट्रिय टोलीमा डेब्यू गर्न आयुष घलान, कमल थापा र सुरज जिउ ठकुरी मौकाको पर्खाइमा छन्। अस्ट्रेलिया जस्तो बलियो टोलीविरुद्ध डेब्यू गर्न पाउनु नेपाली युवा खेलाडीका लागि राम्रो अनुभव बटुल्ने मौका हुनेछ।

त्यस्तै अल्मुताइरीले नेपालले अस्ट्रेलियाविरुद्ध पनि राम्रो फुटबल खेल्ने कुराको जानकारी दिए। “अहिलेसम्म हामीले राम्रो फुटबल खेल्दै आएका छौं, हाम्रो स्टाइल अफ प्लेमा केही परिवर्तन आएको छ, र अस्ट्रेलियाविरुद्ध पनि राम्रो खेल खेल्ने छौं”, उनले भने। “नतिजा हार नै रहे पनि पुरै गेम डिफेन्डिङ गरेर हैन, राम्रो फुटबल खेलेर हार्नेछौ”, अल्मुताइरीले जोर्डन पछिको खेल पश्चात भनेका थिए। यी सब कुराले नेपाल आज नतिजा भन्दा पनि राम्रो अनुभव बटुल्न र आफ्नो टोलीको स्तर परीक्षण गर्न मैदानमा उत्रने कुरा पक्का छ।
उता अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्रेहेम आर्नोल्डले भने नेपालको तारिफ गर्दै भने, “नेपलको खेल्ने शैलीमा निकै परिवर्तन आएको छ।” उनले प्रि-म्याच कन्फरेन्समा नेपाल एकदमै मेहनती टोली रहेको कुरा व्यक्त गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आफ्नो टोली उत्सुक रहेको कुरा उल्लेख गरे।

समूह चरणमा शत प्रतिशत नतिजा निकालेको अस्ट्रेलियाले नेपालविरुद्धको खेलमा पुरै शुरुवाती ११ नै परिवर्तन गर्ने निश्चित देखिएको छ। “हामीसँग २९ जना खेलाडी छन् जसमा ४ जना त गोलरक्षक नै छन्, जो खेले पनि नतिजा भने आउनुपर्यो”, आर्नोल्डले भने।
हेड टू हेड

नेपालले अहिलेसम्म अस्ट्रेलियाविरुद्ध मात्र एक खेल खेलेको छ। सन् २०१९ अक्टोबर १० तारिखमा अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको खेलमा घरेलु टोलीले नेपाल माथि ५-० को फराकिलो जित निकालेको थियो। सो खेलमा जेमी मेक्लेरेनले ह्याट्रिक गर्दा नेपालका फूल ब्याक दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए।
समूह ‘बी’ मा अहिलेसम्म
नेपाल

खेल: ७
जित: २
हार: ५
गोल डिफरेन्स: -१५
अंक: ६
अस्ट्रेलिया

खेल: ६
जित: ६
हार: ०
गोल डिफरेन्स: २२
अंक: १८
यसैबिच अस्ट्रेलियाविरुद्धको खेल अघि नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेत सिटीस्थित ‘अल नासर क्लब’मा आफ्नो अभ्यास गरिरहेको छ। अभ्यासको क्रममा नेपाली टोली केही यस्तो देखियो,

तस्वीर :एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया