युईएफए युरोपा लिग : कप्तान ‘मग्वायर’ बिना नै फाइनलमा उत्रिने तयारी गर्दै म्यानचेष्टर युनाइटेड

काठमाडौं। सन् २०२०/२१ को ‘युईएफए युरोपा लिग’को फाइनल खेल बुधवार राति खेलिंदै छ। पोल्याण्ड को ‘दान्स्क’मा हुन गइरहेको फाइनल खेलमा आज राति इंग्लिश क्लब म्यानचेष्टर युनाइटेड र स्पेनिश क्लब भिल्लारियल प्रतिस्पर्धा गर्दै छन्।

भिल्लारियलको लागि आजको खेल पहिलो युरोपियन फाइनल खेल हुनेछ भने म्यानचेष्टर युनाइटेडको लागि यो मात्र अर्को चुनौती। सन् २०१७ मा पछिल्लो पटक युरोपा लिगको उपाधि जितेको युनाइटेडले च्याम्पियन्स लिगको उपाधि पनि तीन पटक जितिसकेको छ।

तर दुवै टिमको ‘डगआउट’को कुरा गर्ने हो भने भिल्लारियलका मुख्य प्रशिक्षक ‘उनाई एमेरी’ले यस अघि तीन युरोपा लिग उपाधि जितेका छन् भने युनाइटेडका मुख्य प्रशिक्षक ‘ओले गन सोलसाई’को यो पहिलो उपाधि हुनेछ।

दुवै टोलीले आफ्ना केही खेलाडीहरुलाई इन्जुरीका कारण फाइनलमा गुमाउने निश्चित भइसकेको छ। तर यसको सबै भन्दा ठूलो चोट युनाइटेडलाई पर्नेछ। म्यानचेस्टर युनाइटेडका कप्तान तथा प्रमुख डिफेन्डर ‘ह्यारी मग्वायर’ले चोटका कारण आजको फाइनल खेल गुमाउने लगभग तय भइसकेको छ।

युनाइटेडको टोलीसँग पोल्याण्डको यात्रा गरेपनि ‘मग्वायर’ले कुनै पनि अभ्यासमा भाग लिएका छैनन्। अझै आफ्नो टोलीको अभ्यासलाई बेन्चबाट नियालेको दृश्य विभिन्न सामाजिक सञ्जालमा आइसक्दा उनको अनुपस्थितिको अड्कल सारा फुटबल जगतले काटिसकेको अवस्था छ। ‘मग्वायर’ आजको खेलमा देखिने सम्भावना कम भएपनि न्यून भने छैन। उनको डिफेन्डिङ र पासिङको खाँचो युनाइटेडलाई अत्यन्तै महत्वपूर्ण देखिन्छ।

उता भिल्लारियलको यस प्रतियोगितामा तथ्याङ्क उत्कृष्ट रहेको छ। १४ खेलमध्ये १२ खेलमा जित निकालेको ‘येल्लो सबमरिन’ भिल्लारियलको टोलीले बाँकि २ खेलमा बराबरीको नतिजा निकालेको छ। अझै घरेलु लिग ‘ला-लिगा’को अन्तिम खेलमा रियल मड्रिडसँग २-१ गोलले पराजय भोगेको भिल्लारियललाई युरोपा लिगको फाइनल उपाधिले मात्र अर्को सिजन ‘च्याम्पियन्स लिग’ फुटबल सुनिश्चित गर्नेछ।

यससँगै भिल्लारियल युरोपा लिगको फाइनल पुग्ने ११औं स्पेनिश टोली भएको छ। र इतिहास हेर्ने हो भने स्पेनिश टोलीको तराजु फाइनलमा जहिले पनि भारी देखिन्छ। स्पेनिश टोलीले इंग्लिश टोलीलाई ९ पटक फाइनल खेलमा पराजित गरिसकेका छन्।

उता म्यानचेष्टर युनाइटेडले सन् २०१६/१७ मा युरोपा लिग उपाधि जित्दा ‘एमेरी’को तीन लगातार युरोपा लिग उपाधिमा पूर्णविराम लागेको थियो। ‘जोसे माउरिन्हो’को प्रशिक्षणमा अन्तिम उपाधि जितेको युनाइटेड, आजको खेलमा जित निकाल्दै क्लबलाई पुनः उपाधिको दिशातर्फ लैजान चाहन्छ।

 

फाइनलको यात्रासम्म

म्यानचेस्टर युनाइटेड

राउण्ड अफ १६:  एसी मिलान (२-१ )
क्वार्टर फाइनल: ग्रानाडा (४-० )
सेमी फाइनल: रोमा (८-५ )
सर्वाधिक गोलकर्ता: एडिन्सन काभानी (५ )
सर्वाधिक असिस्ट: ब्रुनो फर्नान्डेज (४ )

 

भिल्लारियल

राउण्ड अफ १६: डाइनामो किभ (४-० )
क्वार्टर फाइनल: डाइनामो जाग्रेब (३-१ )
सेमी फाइनल: आर्सनल (२-१ )
सर्वाधिक गोलकर्ता: पाको एलकेसर, जेरार्ड मोरेनो (६ )
सर्वाधिक असिस्ट: सामुयल चुकवेजे (४ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?