काठमाडौं। यस सप्ताहन्त (शनिवार) ला-लिगा २०२०/२१ सिजनको अन्तिम चरणका खेलहरु सञ्चालन हुँदैछन्। अन्तिम चरणको खेलले नै यस पटकको विजेता पनि हामी समक्ष लिएर आउने छ। एथ्लेटिको मड्रिड र रियल मड्रिड यस पटकका दुई दावेदार टोली हुन्।
२०२०/२१ सिजन अन्त्यमा पुगेको बेला उपाधि होडमा दुई टोली बाँकि रहेका छन्। एथ्लेटिको मड्रिड सिजन भर शीर्ष स्थानको सेरोफेरोमा रहन सफल भएको छ। उपाधि होडमा बलियो पनि एथ्लेटिको नै देखिएको छ। यद्यपि रियल मड्रिड पनि उपाधि होडमा सँगसँगै लागेको अवस्था छ। र भोलि, शनिवार खेलिने खेलमा यस पटकको विजेताको टुङ्गो लाग्ने भएको छ।

एथ्लेटिकोले यस सिजन उत्कृष्ट फुटबल खेले पनि केही नतिजाहरु आफ्नो पक्षमा पार्न नसक्दा उपाधि होड अन्तिम चरणसम्म लम्बिएको हो। तर पनि ‘डिएगो सिमियोने’को प्रशिक्षणमा रहेको एथ्लेटिकोको भाग्य आफ्नै हातमा रहेको छ।
उता रियल मड्रिडको उपाधि होड पनि लाजवाव नै मान्न मिल्छ। ‘जिनेदिन जिदान’को टोलीमा यस वर्ष इन्जुरी र कोरोना संक्रमण पुष्टिले ठूलो तनावको वातावरण सिर्जना गर्यो। यसको बावजूद रियलले हार मानेन र उपाधि होडमा एथ्लेटिकोलाई सकस दिइ नै रह्यो।
अंक तालिकामा एथ्लेटिको मड्रिड र रियल मड्रिडको स्थान यस्तो देखिन्छ।

३७ खेलमा ८३ अंकसहित शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई रियल भ्यालाडोइडविरुद्धको जित उपाधि जित्न काफी छ। रेलिगेशन बच्न धौधौ परिरहेको भ्यालाडोइडलाई एथ्लेटिकोले पराजित गरेको खण्डमा एथ्लेटिकोले उपाधि चुम्ने छ।
यदि एथ्लेटिकोले आफ्नो खेलमा पराजय भोगेको खण्डमा भने रियल मड्रिडलाई उपाधि जित्न सहज हुनेछ। घरेलु मैदानमा भिल्ला रियलको सामना गर्न गइरहेको रियलले जित निकालेको खण्डमा रियलको ८४ अंक हुनेछ र उपाधि कब्जा गर्नेछ।
तर एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बराबरी गरेको खण्डमा भने के हुन्छ त ?
यदि एथ्लेटिकोले आफ्नो खेलमा बराबरीको नतिजा निकालेको र रियलले आफ्नो खेलमा जित निकालेको खण्डमा भने दुवै टोलीको समान ८४ अंक हुनेछ।
युरोपको धेरै जसो लिगमा यस्तो बेला ‘गोल डिफरेन्स’ हेरिन्छ। जुन अहिलेको अवस्थामा एथ्लेटिको मड्रिडको +४१ छ भने रियल मड्रिडको +३ं८। तर ला-लिगामा भने यस्तो हुँदैन।
‘गोल डिफरेन्स’को स्थानमा यहाँ ‘हेड-टू-हेड’को नतिजालाई मान्यता दिइन्छ। जुन रियल मड्रिडको पक्षमा छ। यस सिजन यी दुई टोली आमने सामने हुँदा एक खेल बराबरीमा सकिएको थियो भने अर्को खेल रियल मड्रिडको पक्षमा गएको थियो। रियलले एथ्लेटिकोविरुद्ध घरेलु मैदानमा २-० को जित निकाल्दा एथ्लेटिकोले आफ्नो घरेलु मैदानमा रियलसँग १-१ को बराबरी खेल खेलेको थियो।
यस कारणले यी दुई टोलीबिच अंक बराबरी भएको अवस्थामा उपाधि रियल मड्रिडले जित्ने छ। यसरी यी दुई टोलीको उपाधि जित्ने सम्भावनालाई निम्नरूपमा बुझ्न सकिन्छ।
एथ्लेटिको मड्रिड

प्रतिद्वन्दी: रियल भ्यालाडोइड (अवे)
उपाधि जित्न
१) आफ्नो जित
२) आफ्नो बराबरी वा पराजय, रियल मड्रिडको बराबरी
३) आफ्नो बराबरी वा पराजय, रियल मड्रिडको पराजय
रियल मड्रिड

प्रतिद्वन्दी: भिल्लारियल (होम)
उपाधि जित्न
१) आफ्नो जित, एथ्लेटिको मड्रिड को हार
२) आफ्नो जित, एथ्लेटिको मड्रिड को बराबरी
के सन् २०१४ पछि एथ्लेटिको मड्रिडले आफ्नो पहिलो ला-लिगा उपाधि जित्ने छ? या साविक विजेता रियल मड्रिडले फेरि उपाधि हात पार्नेछ? भोलिको खेलले सबैको कौतुहलता साम्य बनाउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया