बढ्यो कोरोना जोखिम : थपिए ३६७ संक्रमित, उपत्यकामा मात्रै १५४ जना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ३०३ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । भने ६४ जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरी ३१ सय २५ जनाको पीसीआर परीक्षण र ६९० जनाको एन्टीजेन परीक्षण गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्रै थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १२८, भक्तपुरमा ११ र ललितपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट जम्मा १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल देशभर ८३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ९७ दशमलव ९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । यसअघि शनिवार नेपालमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १ जनाको कोरोना संक्रमणको कारण निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?