ओली समूहको रणनीति के ?

लोकपथ
0
Shares

काठमाडौँ । नेकपा ओली समूहले आफ्नो पक्षमा बहुमत सांसद जुटाएर अविश्वास प्रस्ताव विफल पार्ने रणनीति अघि सारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबार हुने बैठकमा अविश्वास प्रस्ताव आए डटेर सामना गर्ने शनिबार बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा आफू पक्षका सांसदहरूलाई सुनाएका थिए ।

ओलीले नेकपा दाहाल–नेपाल समूहका सांसद आफ्नो पक्षमा आउने दाबी गर्दै प्रतिनिधिसभामा अविश्वास प्रस्ताव आएमा डटेर सामना गर्ने जानकारी दिए । भ्रममा परेर र बाटो बिराएर गएका सांसद आफ्नो पक्षमा आउने उनले दाबी गरे । उनले दाहाल–नेपाल समूहका नेताहरूलाई इंगित गर्दै सडकमा गएर दलको नेता आफैं हुँ भन्नुको अर्थ नभएको बताए । उनले कानुनी रूपमा आफूहरू ठीक ठाउँमा रहेको तर्क गर्दै कतिपय नेता र सांसद नियत बिग्रेर र भ्रममा परेर सडकमा गएको बताए । उनले बाहिर रहेका सांसद तथा नेताहरू छिट्टै फर्कने दाबी गरे ।

दाहाल–नेपाल समूहले प्रतिनिधिसभामा राजीनामा माग्ने बताइरहेका बेला ओलीले अविश्वास प्रस्तावको सामना गर्ने बताएका हुन् । उनको यो भनाइले आफ्नै पक्षमा बहुमत देखाउन खोजेको प्रस्ट भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । कतिपयले प्रधानमन्त्री ओलीले नै विश्वासको मत लिनुपर्ने तर्क अघि सारेका छन् तर उनी आफैं विश्वासको मत लिने पक्षमा नरहेको देखिएको छ । करिब सवा घण्टा सञ्चालन भएको बैठकमा ओलीले सांसदहरूलाई प्रतिनिधिसभामा भूमिका प्रभावकारी बनाउन निर्देशन दिए । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?