चीनले नेपाललाई तीन लाख डोज कोभिड–१९ खोप उपलब्ध गराउने

काठमाडौँ– चीनले नेपाललाई ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने भएको छ।

चिनियाँ कम्पनी ‘सिनोफार्म’ले कोभिड–१९ विरुद्ध खोपको तीन लाख डोज नेपाललाई उपलब्ध गराउन चीन सरकारले निर्णय गरिसकेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । त्यसबाट डेढ लाख नेपाली नागरिकलाई खोप उपलब्ध हुने दूतावासले आइतवार साँझ प्रकाशित गरेको प्रेस नोटमा उल्लेख छ ।

उक्त खोपलाई नेपालमा पनि आपतकालीन प्रयोग अनुमतिका लागि नेपाली अधिकारीहरूसँग समन्वय भइरहेको दूतावासले जनाएको छ । ‘कोभिड–१९ विरुद्धको लडाईंमा विजयी बन्न नेपाल र नेपाली जनतालाई चीनले अनुदानमा उपलब्ध गराउने खोपबाट मद्दत मिल्ने विश्वास छ,’ प्रेस नोटमा भनिएको छ, ‘चीन सरकार नेपाली पक्षसँग मिलेर काम गर्न तयार छ ।’ ‘नेपाल र चीन असल छिमेकी, मित्रराष्ट्र र साझेदार मुलुक हुन्,’ प्रेस नोटमा भनिएको छ, ‘कोभिड–१९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने निर्णय नेपाल–चीन मित्रताको महत्व झल्काउँछ ।’

आइतबारसम्म २ करोड ४० लाख डोज खोप वितरण भइसकेको दाबी दूतावासको छ । दुई डोज लगाएपछि कोभिड–१९ विरुद्ध ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखिएको छ, पाकिस्तान, यूएई, हंगेरीलगायत १३ मुलुकमा खोप वितरणका लागि लाइसेन्स प्राप्त भइसकेको छ,’ प्रेस नोटमा उल्लेख छ ।

चीनभित्रै र विश्वभर नै अहिले कोभिड भ्याक्सिनको अत्यधिक माग भए पनि चीन सरकारले नेपाल–चीन मित्रतालाई विशेष महत्व दिँदै नेपाललाई प्राथमिकतामा राखेको दूतावासको भनाइ छ।

यसअघि भारतले १० लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिएपछि अहिले ७७ जिल्लामै स्वास्थ्यकर्मी लगायतलाई भ्याक्सिन लगाउन सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?