शहीदको सपना पूरा गर्न लोकतन्त्रको स्थीर विकास आवश्यक : डा. रामशरण महत

RSS
0
Shares

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले शहीदको सपना पूरा गर्न लोकतन्त्रको स्थीर विकास गर्न आवश्यक रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिकाद्वारा शहीद दिवसको अवसरमा आज (शुक्रवार) व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो अल्ट्रा म्याराथनको उद्घाटन गर्दै उनले लोकतन्त्रको दिगो ढङ्गले विकास गर्न आवश्यक रहेकामा जोड दिए ।

“लोकतन्त्रको विकासका लागि शहीदले ठूलो योगदान दिएका छन्, ज्यानको आहूति दिएका छन् । शहीदलाई सम्मान गर्नुपर्छ”, उनले भने, “त्यसका लागि राजनीतिक, सामाजिक, आर्थिक अधिकारलाई सुनिश्चित गर्नुपर्छ ।” राजनीतिक विकासको साथसाथै आर्थिक समुन्नतिको आवश्यक रहेकाले त्यसतर्फ सबैको ध्यान हुनुपर्नेमा पूर्वमन्त्री समेत रहेका डा. महतले जोड दिए ।

खेलकूदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नगरपालिकाले म्याराथनको आयोजना गरेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । मगरको गाउँ मानुङ र गुरुङको गाउँ पुलिमराङलाई खेलको माध्यमबाट जोड्न नगरपालिकाले तीन वर्ष अगाडिदेखि म्याराथन गर्दै आएको बताउँदै उनले भने, “मानुङ आज विश्वमाझ परिचित हुन सफल भएको छ, यसको देन म्याराथन पनि हो ।”

चौवालीस किमी दूरीको अल्ट्रा म्याराथनमा १८० धावक सहभागी छन् । म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौं, धादिङ, म्याग्दीलगायतका जिल्लाबाट धावक सहभागी रहेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुनेले क्रमशः ८५ हजार ७७, ६५ हजार ७७, ५५ हजार ७७ र सान्त्वना पाँच जनाले १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्धितीय र तृतीय पुरस्कार राशिमा चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ८१ हजार ७६, ६१ हजार ७६ रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।

धावकले नियम पालना गरे नगरेको चेकजाँच गर्नका लागि आठ ठाउँमा चेकबिन्दु स्थापना गरिएको छ । व्यास नगरपालिका–४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका–१० पिजनहिल खहरे, व्यास नगरपालिका–७ पाथ्रा मन्दिर, व्यास नगरपालिका–७ पातल सत्रसय, व्यास नगरपालिका–८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका–८ सुनपोखरी, व्यास नगरपालिका–८ गाडापानी र व्यास नगरपालिका–८ पुलिमराङमा चेकबिन्दु स्थापना गरिएको छ ।

म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जितेका थिए । उनले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा कालीकोटका देवराज महतरा द्धितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।

शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने जानकारी दिएका छन् ।

शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा आज (शुक्रवार) यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शहीदका सपना साकार पार्न प्रमुख दलले नै आपसी वादविवाद होइन, जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका कांग्रेस प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले शहीदले गरेको त्यागलाई उच्च सम्मान गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर रानाले सत्ता राजनीतिको होडबाजीलाई त्यागेर विकासप्रति एकजुट हुन आग्रह गर्नुभयो । उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङबाट निस्केको र्‍यालीले शहीद स्मारक पुगी शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको थियो ।

स्मारकमा श्रद्धाञ्जलि अर्पण

शहीद दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित अमर शहीद स्मारकमा आज (शुक्रवार) पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो ।

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, मुख्यमन्त्री पौडेल, मन्त्रीहरु क्रमशः विभिन्न दलहका नेता एवम् सुरक्षा निकायका उच्च पदस्थ अधिकृतले अमर शहीदको स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?