काठमाडौं । सार्वजनिक संस्थानको जागिर निकै चुनौतीपूर्ण र कठिन हुने गर्दछ । त्यसमाथि कुनै राष्ट्रको राष्ट्र प्रमुखको कार्यालय कति व्यस्त र जटिल हुन्छ भन्ने कुरा हामी अनुमान मात्रै लगाउन सक्छौं । अब यसमा पनि त्यो देश अमेरिका हो भने त्यहाँको संवेदनशीलता, जिम्मेवारी, जटिलता आदिको आँकलन मात्रै गर्न पनि हामीलाई हम्मेहम्मे पर्न सक्छ ।
यति हुँदाहुँदै पनि अमेरिकाको ह्वाइट हाउसमा जागिर पाए को पो दंग पर्दैन होला र ? दंग नहोस् पनि कसरी काम अनुसारको तलब पाउने लोभ पनि त हुन्छ सबैलाई ।
ह्वाइट हाउस नागरिकको करले सञ्चालन हुने भएकाले त्यहाँको आर्थिक विवरण पनि जनताले पारदर्शी रुपमा हेर्न पाउनुपर्छ भनेर त्यहाँ कार्यरत कर्मचारीहरुको वार्षिक आय विवरण सार्वजनिक गरिँदै आएको छ । जसमध्ये केही पद र त्यसको आय विवरण हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
राष्ट्रपति
विश्वकै शक्तिशाली राष्ट्रको प्रमुख हुनु सहज काम पक्कै होइन । यस कामसँग जोडिएर जति अवसरहरु आउँछन् त्यो भन्दा बढी हुन्छ यसैसँग आउने चुनौतीहरु पनि । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक तलब ४०० हजार डलर थियो जुन ४ करोड ७० लाख रुपैयाँ भन्दा बढी हुन आउँछ ।
योसँगै वार्षिक ५० हजार डलर खर्च भत्ता, १०० हजार डलर भ्रमण खर्च र मनोरञ्जनका लागि वार्षिक १९ हजार डलर प्रदान गरिन्छ ।
सन् २००१ देखिका हरेक राष्ट्रपतिले यति नै रकम पाइरहेका छन् ।
उप राष्ट्रपति
अमेरिकाका उप राष्ट्रपतिको वार्षिक तलब २३० हजार ७ सय डलर रहेको छ जुन २ करोड ७१ लाख रुपैयाँ भन्दा बढी हुन आउँछ । सन् २०१० देखि हरेक उप राष्ट्रपतिले यति नै पारिश्रमिक पाउँदै आएका छन् ।
कर्मचारी प्रमुख
ह्वाइट हाउसमा प्राविधिक देखि प्रशासनिक हुँदै घरेलुसम्म कति कर्मचारीहरु खट्छन् होला ? अनि ती सबै कर्मचारीलाई परिचालन गर्ने व्यक्तिमाथि कति ठूलो जिम्मेवारी रहन्छ होला ? त्यसैले, ह्वाइट हाउसमा वार्षिक २०० हजार डलर्स भन्दा माथि वार्षिक पारिश्रमिक पाउने थोरै व्यक्तिमा पर्दछन् त्यहाँका कर्मचारी प्रमुख ।
व्यापार तथा उत्पादन नीति निर्माणका लागि राष्ट्रपतिका सहायक
डोनाल्ड ट्रम्पको कार्यकालका दौरान व्यापार तथा उत्पादन नीति निर्माणका लागि राष्ट्रपतिका सहायकको भूमिकामा रहेका पिटर नभारोले वार्षिक १८३ हजार डलर बराबरको पारिश्रमिक प्राप्त गर्दथे । यस पदको स्थापना नै ट्रम्पको कार्यकालमा भएकाले नभारोका पूर्व अधिकारी कोही थिएनन् ।
फस्र्ट लेडीकी कर्मचारी प्रमुख
हो, राष्ट्रपतिकी पत्नी(फस्र्ट लेडी)को पनि छुट्टै कर्मचारी प्रमुख रहने गरेको छ । जसवापत् उनले ह्वाइट हाउसबाट वर्षको १८३ हजार डलर पारिश्रमिक प्राप्त गर्दछन् ।
राष्ट्रिय आर्थिक परिषद्का निर्देशक
डोनाल्ड ट्रम्पको कार्यकालमा यस पदमा आसीन ल्यारी कुडलोको वार्षिक पारिश्रमिक १८३ हजार डलर थियो भने पूर्ववर्ती(ओबामाको नेतृत्व छँदा) जेफ जाइन्ट्सले १७६ हजार ४६१ डलर वार्षिक कमाउँथे ।
राष्ट्रिय आर्थिक परिषद्का उपनिर्देशक
राष्ट्रिय आर्थिक परिषद् सन् १९९३ मा स्थापना गरिएको थियो । यसले आफ्नो स्थापना कालदेखि नै ह्वाइट हाउसको आर्थिक नीतिसम्बन्धित हरेक पक्षबाट नेतृत्वकारी भूमिका निर्वाह गर्दै आएको छ । यस परिषद्का उपनिर्देशकले वार्षिक १६८ हजार डलर पारिश्रमिक प्राप्त गर्दछन् ।
ह्वाइट हाउस आइटी निर्देशक
डोनाल्ड ट्रम्पको नेतृत्वका दौरान ह्वाइट हाउसका आइटी निर्देशकले वर्षको १६८ हजार डलर पारिश्रमिक प्राप्त गर्दथे । यो पदस्थापना भने बाराक ओबामाको कार्यकालमा भएको थियो ।
ह्वाइट हाउस भ्रमण कार्यालयका निर्देशक
ह्वाइट हाउस भ्रमण कार्यालयका निर्देशकको जिम्मेवारी भनेको ह्वाइट हाउसका प्रेस कोप्र्स तथा अधिकारीहरुको भ्रमणका दौरान उडान, बस्नेखाने लगायत व्यवस्था मिलाइदिने हो । यस पदले वार्षिक ९२ हजार ४०० डलर्स पारिश्रमिक प्राप्त गर्दछ ।
स्टेनोग्राफी
स्टेनोग्राफी अर्थात् छोटकरीमा लेख्नसक्ने कला । प्रायजसो अदालतहरुमा कसैले बयान दिँदै गर्दा केही व्यक्तिहरु भने छेउमै बसेर केही टाइप गरिरहेका हुन्छन् । हो तिनै हुन्, स्टेनोग्राफर ।
स्टेनोग्राफीमा साङ्केतिक अक्षर तथा शब्द प्रयोग गरेर मान्छेले बोल्दाबोल्दै उसले बोलेका शब्द टिपोट गर्न सकिन्छ ।
ह्वाइट हाउसमा भएका अन्य पदभन्दा यो पद यसकारण पनि बेग्लै छ किनकी यसमा कुनै राजनीतिक हस्तक्षेप हुन सक्दैन । विशुद्ध आफ्नो कला प्रदर्शन गर्ने काम हो यो । यो काम गर्नेले ह्वाइट हाउसमा वार्षिक ९५ हजार ५ सय पारिश्रमिक कमाइरहेका छन् ।
सामाजिक सचिव
यो पद ह्वाइट हाउसको सबैभन्दा कम विवादास्पद पद हुनसक्छ । यस भूमिकामा रहेका व्यक्तिहरुह्वाइट हाउसमा कार्यक्रमहरुको योजना बनाउने, आयोजना गर्ने र कार्यान्वयन गर्ने काम गर्नुपर्दछ । ट्रम्पको कार्यकालमा यस पदमा हुने व्यक्तिको वार्षिक पारिश्रमिक १६८ हजार डलर रहेको छ ।
राष्ट्रपतिका वरिष्ठ सल्लाहकार र सल्लाहकार
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको वरिष्ठ सल्लाहकार र सल्लाहकारका रुपमा क्रमशः उनकै छोरी इभान्का र ज्वाइँ जारेद कुशनर रहेका थिए ।
यस भूमिकाका लागि उनीहरुले ह्वाइट हाउसबाट कुनै किसिमको पारिश्रमिक लिएका थिएनन् ।
क्यालिग्राफर
ह्वाइट हाउसको आधिकारिक पत्र, निमन्त्रणा, प्रमाण पत्र आदिजस्ता लेखन विधाका लागि छुट्टै व्यक्ति राखिन्छ जसले वर्षको झण्डै १०० हजार डलर्स कमाइरहेको हुन्छ ।
नैतिक परामर्श
नैतिक विषयका कुराहरुमा कानूनी परामर्श दिनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वका दौरान दुईजना वकिलहरु राखिएको थियो । यस्तो भूमिकामा रहेकाहरुले ह्वाइट हाउसबाट वार्षिक १५१ हजार ६३३ डलरको आम्दानी गर्दछन् ।
वरिष्ठ भिडियोग्राफर
ह्वाइट हाउसले केही भिडियोग्राफरहरु नियुक्त गरेको छ जसको औसत वार्षिक परिश्रमिक ६४ हजार ४०० डलर रहेको छ । यद्यपि, ह्वाइट हाउसका वरिष्ठ भिडियोग्राफर स्यामुएल ब्राउनले वर्षको ७२ हजार ७०० डलर कमाउँछन् ।
मन्तव्य लेखक
पूर्व राष्ट्रपति ट्रम्पले ४ जना मन्तव्य लेखकहरु नियुक्त गरेका थिए भने पूर्व राष्ट्रपति ओबामाले आफ्नो कार्यकालमा ९ जना वक्तव्य लेखक नियुक्त गरेका थिए ।
ट्रम्पका मन्तव्य लेखकहरुले वर्षको १२० हजार डलर पारिश्रमिक पाउँदै आएका थिए । त्यस्तै, ओबामाको नेतृत्व रहँदा वक्तव्य लेखकहरुले ४२ हजार ६१३ डलर देखि १७६ हजार ४६१ सम्म वार्षिक पारिश्रमिक पाउँदथे ।
राष्ट्रपतिका सहायक तथा वरिष्ठ परामर्शदाता
पूर्व राष्ट्रपति ट्रम्पका धेरै सहायकहरु थिए जसमध्ये वरिष्ठ थिइन् केलिएन कनवे । ट्रम्पको कार्यकालको शुरुवातदेखि नै उनकी सहायक तथा वरिष्ठ परामर्शदाता रहेकी केलिएनको वार्षिक पारिश्रमिक १८३ हजार डलर रहेको थियो ।
कार्यकारी क्लर्क
राष्ट्रपतिसम्म पुग्ने र राष्ट्रपतिमार्फत् जाने सबै किसिमका कागजपत्र, आदेश, चिठी आदि सबैको जिम्मेवारी यस भूमिकामा रहेका व्यक्तिको हुन्छ । खातापाता व्यवस्थापन गर्नेजस्तो प्रशासनिक काम गर्नुपर्ने यस पदले वार्षिक १६५ हजार ४१७ डलरको पारिश्रमिक प्राप्त गर्दछ ।
कार्यकारी सहायक
ह्वाइट हाउसमा काम गर्ने अधिकांश सहायकहरुले वर्षमा औसत ४८ हजार ८०० डलर कमाउँछन् । धेरै भन्दा धेरै कमाउनेले पनि ५० हजार डलर भन्दा बढी चाहिँ कमाउँदैनन् । यद्यपि, ह्वाइट हाउस बाहिर कार्यकारी प्रशासनिक सहायक, कार्यकारी सचिवका रुपमा काम गर्ने व्यक्तिले औसतमा वर्षको ६१ हजार ५५० डलर कमाइरहेको हुन्छन् ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
भिडियोमा हेर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया