प्रचण्ड नेपाल समूहको बैठक : के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि निरन्तर आपत्ति जनाउँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असन्तुष्ट समूहले प्रदेशस्तरीय भेला गर्दै ओली प्रवृत्तिको प्रतिवाद गर्न आफू निकटहरूलाई निर्देशन दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका हुन् । गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको हो । पार्टीमा विवाद कायमै रहेको बेला पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका हुन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अध्यादेश फिर्ता गर्ने पार्टी स्थायी कमिटीले निर्णय गरे पनि त्यससम्बन्धी प्रक्रिया नबढाएको भन्दै प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरे । अध्यादेश फिर्ताको प्रक्रियामा जानुको साटो बिहीबार परिषद्को बैठक राख्ने प्रयत्न गरेपछि दाहालले आपत्ति जनाएका थिए । अब पनि फिर्ता नलिए त्यसबाट उत्पन्न हुने परिणाम ओलीले नै भोग्नुपर्ने उनको चेतावनी थियो ।

उनले ओलीबाट पटक–पटक धोका पाएको बताए । दुई अध्यक्ष मिलेर जाँदा मात्र नभएकाले अब सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यको धारणालाई बोकेर अघि बढ्ने प्रतिबद्धता दाहालले जनाएका थिए । दाहालले पार्टीमा आफू र ओलीले राखेका दुईवटा प्रस्तावका बारेमा पनि बोलेका थिए । त्यसक्रममा उनले आफ्नो प्रस्तावमा विधि पद्धतिमा आइरहेको विचलनलाई सच्याउन जोड दिएको दाबी गरेका थिए तर ओलीले त्यस्ता विषयलाई पदमा लगेर जोडेकामा आफ्नो आपत्ति रहेको बताए ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको स्वेच्छाचारिता र एकाधिकारवादी सोचले सीमा नाघेको बताए । भेलामा सहभागी नेताहरूका अनुसार उनले ओलीले विधि, पद्धति नमानेर सबैको मानमर्दन गर्दै हिँडेकामा आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीको शैलीमाथि नै धेरै टिप्पणी गरेका नेपालले पार्टी छ भन्ने ख्यालसमेत नगरी अघि बढ्न खोजेको बताए । खनालले पनि ओलीले विधि पद्धति नमानेको र स्वेच्छाचारी भएर हिँडेकाले सच्याउन जरुरी रहेको बताएका थिए । उनले आफूहरूले उठाएको विषय कुनै पदका लागि नभएको जनाए ।

दाहाल–नेपाल पक्षले यसअघि वाग्मती र काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थीको भेला गरेको थियो । ओली समूहले पनि यसअघि प्रदेश १ को भर्चुअल भेला गरेको थियो । उक्त भेलामा ओलीले नै सम्बोधन गरेका थिए । ओली समूहको भेलाचाहिँ धेरैजसो मदन भण्डारी फाउन्डेसनको ब्यानरमा हुने गरेको छ । शनिबार ओली समूहले गण्डकी प्रदेशमा भेला गर्ने तयारी गरेको छ । दुवै पक्षले पार्टीमा जुनसुकै खालको परिस्थिति आउन सक्ने जोखिम भएकाले शक्ति सञ्चय र एक–अर्कालाई दबाब बढाउन भेला गरेका हुन् ।

कोटेश्वर भेलापछि दाहालले साँझ प्रधानमन्त्री ओलीलाई भेटेका छन् । छलफलमा स्थायी कमिटीको निर्णय कार्यान्वयनको विषयमा केन्द्रित भए पनि कुनै ठोस सहमति भने भएको छैन । ओलीले अझै पनि दुवै दस्ताबेज फिर्ता लिएर साझा सहमतिको दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव गरिरहेका छन् । दाहाल भने स्थायी कमिटीमा दुवै प्रस्तावबारे छलफल गरेर निचोडमा पुग्नुपर्ने अडानमा छन् । स्थायी कमिटी बैठक आइतबारका लागि तय गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?