सभामुखको प्रस्टीकरण- ‘पर्याप्त गृहकार्य र समन्वय भएन’

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले पर्याप्त गृहकार्य र समन्वय नभएकाले आज बसेको संवैधानिक परिषद् बैठकमा उपस्थित हुन नसकेको जनाएको छ ।

मंसिर २८ र ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक डाकेका थिए। दुबै बैठकमा उनी अनुपस्थित थिए।

सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत बिहान ८ : ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नु भएको यसअघि नै जानकारी गराइसकिएको छ। स्मरण रहोस्, त्यस दिन बिहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको थियो।’

यस्तै आजको बैठकमा पनि पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएको जनाएको छ ।

‘जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो’, उनको सचिवालयले भनेको छ, ‘राज्य संचालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरूबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?