काठमाडौं । उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वषौँदेखीको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ ।
विवेकशील साझा पार्टीले आइतवार एक विज्ञप्ति जारी गर्दै उखु किसानहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गरेको छ ।
गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेको थियो । तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौं आएको थाह पाएर सरकारले चिनी उद्योगी खोज्न थाल्नु खेदजनक भएको सो पार्टीको विज्ञप्तिमा उल्लेख छ ।
यसबाट सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको पनि साझा पार्टीको भनाइ छ ।
‘यदि सरकार किसानको पक्षमा छ भने, हामी नेपाल सरकारलाई उखु किसानहरूले आइन्दा एक दिन पनि सङ्घर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध गर्दछौँ । साथै काठमाडौंको यो जाडोमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषक मित्रहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पङ्क्तिमा पनि अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
भुक्तानीको माग गर्दै किसानहरु आन्दोलनका लागि काठमाडौं आएका छन् भने उनीहरुले आइतवारदेखि माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया