कास्की । कास्की निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद विद्या भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत चालू वर्षका योजना सार्वजनिक गरेकी छन् ।
सांसद भट्टराईले आज पोखरामा पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा रहेको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत चार करोड बजेटबाट ३० योजना छनोट गरिएको जानकारी दिइन् ।
प्रतिनिधिसभा सदस्य भट्टराईले चालू वर्षमा नै सम्पन्न गर्न सकिने खालका पूर्वाधार विकासमा केन्द्रित गरेर योजना छनोट गरेको बताइन् । गत वर्ष मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सांसद भट्टराईले आफूले एक वर्षका अवधिमा अल्पकालीन योजना सम्पन्न गर्ने तथा दीर्घकालीन योजनालाई प्राथमिकताका साथ अघि बढाउने कार्य गरेको बताइन् ।
सांसद भट्टराईले पोखरा–७ र ६ जोड्ने मूलखोकमा बन्दै गरेको अपूरो कल्भर्टसहितको पुल निर्माण र रिटेनिङ वालमा २५ लाख बजेट छुट्याएकी छन्। पोखरा–११ को कालिकाचोक व्यँसघारी सडक स्तरोन्नति, रामघाट परोपकार संस्था किरियापुत्री भवन जाने बाटो स्तरोन्नतिमा २५ लाख बजेट विनियोजन गरिएको सांसद भट्टराईले जानकारी दिइन् ।
वडा नं ८ को शिवालय मार्ग ढल निर्माण र रक्तसञ्चार केन्द्र पूर्वाधार निर्माणमा रु २०÷२० लाखका दरले विनियोजन गरिएको छ । पोखरा–३३ को खैरेनी सिगारेवास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन निर्माणमा २० लाख, वडा नं २० को हरिहर आमा समूह, शिव बहुउद्देश्यीय भवन तथा देवीडाँडा मालिकमार्ग सडकमा १५ लाख, मौजा लामडाँडा खेलमैदान र कुरगाउँ सांस्कृतिकस्थल संरक्षणमा १५ लाख वडा नं २१ को सेल्टारी कृषि सडक र एकहाते रामदी खानेपानीका लागि १५ लाख बजेट छुट्याइएको छ ।
वडा नं ९ मा महेन्द्र मावि र नवप्रभात माविका भौतिक संरचना निर्माणमा १० लाख, जलारी समाज भवन, शान्ति दर्शन बहुउद्देश्यीय भवनमा १० लाख र शान्ति वनस्थित स्मृति सभाहल र साहारा आधारभूत विद्यालयको स्तरोन्नतिका लागि १० लाख तथा जिल्ला ट्राफिक कार्यालयमा पूर्वाधार निर्माणमा १० लाख छुट्याइएको छ ।
वडा नं १५ मा फूलबारी मार्ग सडक र अलकापुर मार्ग स्तरोन्नतिका लागि १५ लाख दरले बजेट विनियोजन गरिएको छ । वडा नं १७ मा आँखा अस्पतालदेखि रामनगरटोलको सडक स्तरोन्नतिमा १५ लाख तथा खरबारी सोतोको भलपानी निकास र जनकल्याण टोल भवनका लागि १५ लाख छुट्याइएको छ ।
यसैगरी पोखरा–४ मा बूढानीलकण्ठ बहुउद्देश्यीय सामुदायिक भवन निर्माण र गणेश मन्दिर पछाडिको सडक स्तरोन्नतिमा १०÷१० लाख विनियोजन गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया