काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एमसिसी परियोजनाका बारेमा कार्यकारी अध्यक्ष प्रचण्डले अनावश्यक आक्षेप लगाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
विगतका सरकारले अघि बढाएको परियोजनालाई आफूले अघि मात्रै बढाएको भन्दै ओलीले विगतका हस्ताक्षरकर्ता राष्ट्रवादी अनि आफूलाई चाहिँ ‘राष्ट्रिय हित विरोधी’ करार गर्ने प्रयास भएको उनले शनिबारको सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा उल्लेख छ ।
‘तपाईंले उल्लेख नगर्नु भए पनि, यथार्थ यही हो– यो सम्झौतामा तपाईंले नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी–केन्द्र) र काङ्ग्रेसको संयुक्त सरकार हुँदा हस्ताक्षर गरिएको हो । अनि, हस्ताक्षरकर्ता ‘राष्ट्रवादी’ र जसले हस्ताक्षर गरेको भए पनि, नेपालको तर्फबाट गरिएको हुनाले यसलाई कार्यान्वयन गर्रौँ भनेर अगाडि बढाउन कोशिस गर्ने म चाहिँ कसरी ‘राष्ट्रिय हित विरोधी’ ?’, उनले प्रश्न गरेका छन् ।
झण्डै आठ वर्ष लामो छलफल, अध्ययन, अनुसन्धान र वहसपश्चात् नेपालको विकासको उत्तोलक बन्न सक्ने उर्जा क्षेत्र र त्यसको पनि महत्वपूर्ण पाटो क्रस बोर्डर ट्रान्समिशन लाइनमा लगानी गर्ने गरी एमसिसीसँग नेपालले हस्ताक्षर गरेको ओलीको भनाइ छ ।
अहिल्यै राष्ट्रव्यापी हाइभोल्टेज ट्रान्समिशन नेटवर्कको अभावमा उत्पादित बिजुली खेर जाने अवस्था आइसकेको उल्लेख गर्दै ओलीले भनेका छन्, ‘आगामी वर्षहरुमा यो समस्या झनै बढ्दै जाने छ । यसका लागि हामीलाई देशभित्र पनि र अन्तरदेशीय पनि हाइभोल्टेज ट्रान्समिशन लाइनको जडान अपरिहार्य छ । विकासका यस्ता रणनीतिक प्रश्नमा गरिने अर्थहीन वहस र खोक्रो ‘राष्ट्रवाद’ ले हामीलाई झनै परावलम्बी बाहेक केही बनाउने छैन ।’
भारतसँगको क्रस बोर्डर हाइभोल्टेज ट्रान्समिशन लाइन ‘गल्ती’ हो भने नेपालले यस्तो ‘गल्ती’ मुजफ्फरपुर–ढल्केबर लाइन बनाएर र त्यसैमार्फत् सयौं मेगावाट विद्युत् आयात गरेर गल्ती गरिसकेको ओलीको भनाइ छ ।
आफूले एमसिसीसँग गरिएको सम्झौताका सम्बन्धमा पार्टीबाट दिइने सुझावलाई सरकारले ध्यान यसअघि नै भनिसकेकाले यसमा अनावश्यक बखेडाको जरुरी नरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया