काठमाडौं – विवाद समाधानका लागि भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी १३ गतेका लागि डाकिएको छ ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा पेश गरेको प्रस्तावमा अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाएपछि नेकपामा झनै चर्किएको विवाद हत्तपत्त साम्य हुने अवस्था देखिएको छैन ।
राजनीतिक प्रस्तावका नाममा आफ्नै पार्टीका अर्का अध्यक्षले गोप्य बैठक समेत गरेर सचिवालयका ९ सदस्यमध्ये ५ जनाको भित्री समर्थनमा एउटा पार्टीको एक अध्यक्षले अर्को अध्यक्षमाथि आरोप नै आरोपको पुलिन्दा पस्कनु ईतिहासकै कलंक भएको भन्दै प्रचण्डसँग चिढीएका ओली १३ गतेको बैठक सार्ने मनस्थितीमा छन् ।
प्रचण्डको सवाल जवाफ एक-एक बुँदामा दिने भनेका ओलीले यसअघि गत मंसिर २ गते बसेको सचिवालय बैठकमा एक सम्बोधन गर्दै यो आफ्नो जीवनकालको सबैभन्दा भएको भन्दै सबै निराधार आरोपको एक-एक जवाफ दिने बताएका थिए । सो बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवादहिनताको स्थितीबाट कम्तिमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो तयारीको लागि समय लिएकोमा यसलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएका थिए । तर बैठक आउन ४ दिन बाँकी रहँदा पनि ओली र प्रचण्डले छुट्टा-छुट्टै कार्यक्रममा दिएको अभिव्यक्तिमा मिलेर जाने संकेत देखिँदैन ।
ओलीनिकट भन्छन्, “यो बैठक हुने छाँटकाँट देखिँदैन । भईहाल्यो भनेपनि यहि बिन्दुमा नेकपा रहँदैन । आगामी मंसिर १३ गते ओली कसरी प्रस्तुत हुन्छन् धेरै कुरा यसैमा निर्भर छ ।”
यसअघि पार्टी एकता भएपछि विभिन्न समयमा ओली र प्रचण्डबीच सार्वजनिक कार्यक्रममा घोचपेच र आरोप प्रत्यारोपको शृंखला नचलेको होईन । तर त्यो मौखिक थियो । अहिले लिखित रुपमा प्रचण्डले ओलीविरुद्ध अनेकन आरोप ओईराएका छन् । यसैको प्रतिउत्तरको लागि ओलीले समय माग गरे पनि यो बीचमा भारतका विदेश सचिव हर्षवर्द्धन श्रृङ्गाला यही मङ्सिर ११ गते द्विदिवसीय भ्रमणमा नेपाल आउँदैछन् ।
उनको भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुने बताइएको छ । प्रचण्ड निकट एक नेता भन्छन्, “यहि बहाना बनाएर सचिवालय बैठक फेरि सार्न पनि सक्छन् । पार्टीको गतिवीधिलाई नियालेका जानकारहरुका अनुसार यसपटक विगतमा जस्तो भागबण्डा मिल्दैमा ओली प्रचण्डले गला मार्ने सम्भावना निकै क्षीण भइसकेको छ । किनभने ओलीले सो आरोप पछिको सचिवालय बैठकमा गरेको सम्बोधनले पनि त्यो संकेत गरेको छ । यता दाहाल पार्टी फुट्दैन भन्ने अभिव्यक्ति त दिइरहेका छन् तर उनी आफूले पेश गरेको प्रस्तावलाई जसरी पनि बैठकमा छलफल हुनुपर्ने अडानमा छन् ।
उनको प्रस्तावमा माधव कुमार नेपालसमेत गरी ५ जनाको समर्थन पाएकोले उनी हौसीएका छन् । त्यसैले यसपटक ‘ब्याक’ भए ओलीले अझै पेलेर लैजान्छन् भन्ने उनको बुझाई छ । यद्यपी पार्टीको विवाद सतहमा आएपछि ओलीले चित्त नबुझे बाटो आ – आफ्ना बाटो लाग्न यसअघि नै भनेका कारण पनि उनी केहि रक्षात्मक बनेका छन् । यता आफूविरुद्ध आरोप पुष्टि भए आफूले पद छाड्ने र पुष्टि नभए दाहालले छाड्नुपर्ने बताएका ओली प्रचण्डको एक-एक आरोपमाथि जवाफको तयारी गर्दैछन् ।
ओलीले के तयारी गरेका छन् त ? भनेर लोकपथले राखेको एक प्रश्नमा ओलीनिकट एक स्रोत भन्छ, “दाहालले गरेका कतिपय गोप्य भनिएका गतिविधी ‘एक्सपोज’ पनि हुनसक्छ । तर प्रचण्डले प्रस्ताव फिर्ता लिएमा यो संकट टर्नसक्छ । १३ सम्म कुर्नुस् न ।”
त्यसो त ओलीले पार्टीभित्र आन्तरिक विवाद चर्कँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तार प्रयास थालेको बताईन्छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि पूर्व माओवादी पक्ष झनै सशंकित बनेका छन् ।
पछिल्लो समय गत असार १० मा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि अझै सतहमा आएको पार्टीको विवाद निकै गिजोलिएको छ । त्यसैले आगामी १३ गतेको बैठकमा के होला भनेर पार्टी नेता कार्यकर्ता र ‘कोभिड – १९’ कोरोना भाइरसको मारमा थिलथिलो भएका जनताले चासोपूर्ण तरीकाले हेरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया