वासिङटन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ ।
अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् ।
रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसक्नु भएकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लाग्नु भएको बाइडेन निकटका व्यक्तिहरुले बताएका छन् ।
राजनीतिक रुपमा मध्यमार्गी धारकी भनेर चिनिनु हुने मिसेल बाइडेनको पहिलो रोजाईमा रहने बताइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्याकालमा पाँच जना रक्षामन्त्री फेरिइसकेका छन् । पछिल्लो पटक रक्षामन्त्री मार्क एस्परलाई राष्ट्रपति ट्रम्पले चुनाव सकिएलगत्तै गत सोमबार बर्खास्त गर्नु भएको छ, र अहिले उक्त पद रिक्त छ ।
रक्षामन्त्री एस्परले विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने तथा अमेरिकामा भएका कतिपय विरोध प्रदर्शनमा सेना परिचालन गर्ने विषयमा राष्ट्रपति ट्रम्पसँग विमती राख्दै आएका थिए।
डेमोक्रेट पार्टीले विगतदेखि नै मुलुकका रक्षा मन्त्रालय समेतका महत्वपूर्ण पदहरुमा महिलालाई पनि अवसर दिनुपर्ने भन्दै वकालत गरिरहेको छ । यसअघि सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिमा विजयी भएको भए मिसेललाई नै रक्षा मन्त्रालयको कार्यभार दिइने चर्चा थियो ।
अहिले फेरि मिसेलको नाम अग्रस्थानमा छ ।
उनान्साठी वर्षीया मिसेलले विदेशमा अमेरिकी सैनिक सहयोगलाई अझ सुदृढ गर्नुपर्ने दृष्टिकोण राख्दै आएकी छन् । उनले सन् २००९ देखि २०१२ सम्म अमेरिकी रक्षा नीतिसम्बन्धी उपमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
अमेरिकी सिनेटमा रिपब्लीकन र डेमोक्रेट दुवैले मिसेलको नामलाई सहजै अनुमोदन गर्ने सम्भावना रहेको छ ।
तर कतिपयले गृह विभागका पूर्व प्रमुख जे जोन्सन पनि रक्षामन्त्रीका लागि सम्भावित उम्मेदवार रहेको बताइरहेका छन् । तर बाइडेनले यसअघि चुनावी प्रचारका क्रममा महिलालाई विशेष अवसर र प्राथमिकता दिने बताइरहेकाले पनि मिसेल नै रक्षामन्त्री हुने सम्भावना बढी छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया