काठमाडौं । लम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शंकर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारण पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती भएको बताएका छन् ।
प्रचण्डले शुक्रवार बसेको सचिवालय बैठकमा एकताको मर्म र स्थायी कमिटिको निर्णय भाव विपरित प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली विरुद्ध एकल प्रस्ताव पेश गरेका थिए ।
शनिवार बिहान सामाजिक सञ्जालमा लेख्दै पोखरेलले अध्यक्ष ओलीविरुद्ध संगीन आरोपसहित एकल प्रस्तावको कारण पार्टी एकता गम्भीर मोडमा पुगेको सम्पूर्ण पार्टी पंक्तिले अनुभूती गरेको टिप्पणी गरेका हुन् ।
“कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ ।” उनले भनेका छन् ।
साथै उनले अध्यक्ष प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि सचिवालयमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गर्न समेत आग्रह गरेका छन् । पार्टी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन आग्रह गर्दै व्यक्तिगत र संस्थागत प्रस्ताव फरक विषयवस्तु फरक हो भन्ने सत्य बुझ्न समेत अनुरोध गरेका छन् ।
“म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।” उनले भने ।
पछिल्लो समय नेकपाभित्रको विवाद चुलिएको छ । अध्यक्षद्वयको टकरावको कारण फुटको अवस्थामा पुगेको नेकपाको लामो रस्साकस्सीपछि शुक्रवार सचिवालय बैठक बसेको थियो । तर बैठक निष्कर्षविहिन टुंगिएर आगामी मंसिर ३ गतेसम्मका लागि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया