सत्तारुढ नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शुक्रबार) अपरान्ह चार बजेका लागि बोलाइएको छ ।

लामो समयको रस्साकस्सी पछि पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएकोमा बैठक आज बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले आजका लागि बैठक आह्वान गरेका हुन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यले कात्तिक २३ गते लिखित रूपमै र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए । तर ओलीले एजेण्डाबिनाको बैठकको तुक नभएको भन्दै बैठक बस्न आनाकानी गरेका थिए । त्यसपछि २५ कात्तिकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठकका लागि पुनः आग्रह गर्दा समेत ओलीले ठाडै अस्वीकार गरेका थिए ।

आजको वैठकमा ओली र प्रचण्ड – नेपाल समूह एकअर्काविरुद्ध खरो उत्रने रणनीतिमा रहेको स्रोतले जानकारी दिएको छ ।

प्रचण्ड पक्ष आजको बैठकमा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन, कर्णालीको पार्टी विवाद, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेट, राजदूत नियुक्ती लगायतको विषय बैठकमा ल्याउने सोचमा छ भने ओली पक्ष सकभर विषयलाई समझदारीका साथ टुंग्याउने रणनीतिमा छ । त्यसैले  बैठकको पूर्वसन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिका साथ आन्तरिक तयारीमा जुटेको स्रोतले बताएको छ । ओली र प्रचण्ड दुबैले आफूनिकटका नेतासँग छलफल गरेका छन् ।

दुई अध्यक्षबीचको लामो रस्साकस्सीपछि आज बस्न लागेको बैठकलाई निकै अर्थपूर्ण तरीकाले हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?