संयुक्त रूपमा नेपालगञ्ज एकीकृत चेकपोष्टको शिलान्यास

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्य एवं उद्योगमन्त्री पीयूष गोयलले संयुक्त रूपमा नेपालगञ्ज एकीकृत चेकपोष्टको शिलान्यास गरेका छन् । आज यहाँ आयोजित भच्र्युअल कार्यक्रमा दुवै देशका मन्त्रीले चेकपोष्टको शिलान्यास गरेका हुन्।

शहरी विकासमन्त्री श्रेष्ठले पोष्टको निर्माणले दुई देशबीचको आर्थिक सहकार्य वृद्धि हुनाका साथै मित्र राष्ट्रबीचको व्यापार, आवागमन, संस्कृति र शिक्षाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपाल र भारतको बीचको सम्बन्ध प्राचीन र अनुपम छ, जसले गर्दा नेपालको व्यावसायिक लगानी, व्यापार, वाणिज्य र निर्माण कार्यमा सकारात्मक प्रभाव पार्दै आएको छ ।”

भारतका वाणिज्यमन्त्री गोयलले वर्तमान अवस्थामा बढ्दै गरेको भन्सार, अध्यागमन र सीमा सुरक्षाका साथै यात्रु आवागमनमा पनि चौकी निर्माणले निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसले दुई घनिष्ठ छिमेकी देशबीचको भन्सार र अध्यागमनको आधुनिकीकरणका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाएको मन्त्री गोयलले बताए ।

सो संरचना नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिका वडा नम्बर १ र १६ मा नेपाल सरकारले पहिचान गरेको ६१ दशमलब ५ हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको हो । यसको निर्माण बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ । चौकी निर्माणका लागि भारु १४७।१२ करोड अर्थात् दुई अर्ब ३५ करोड ४० लाख लाग्ने अनुमान गरिएको छ । सो संरचना दुई वर्षमा सम्पन्न हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?