काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राज्यमन्त्री एवम् एवं लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष ओमकारप्रसाद गौचनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेता गौचनको बुधवार काठमाडौंमा उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत कांग्रेसका अग्रज व्यक्तित्व गौचनको निधनको खबरले आफूलाई अत्यन्त स्तब्ध बनाएको उल्लेख गर्दै स्व गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्याएका सक्रिय योगदान सदा स्मरणीय रहिरहने बताएका छन्।
सभापति देउवाले नेता गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व गौचन राजनीतिक क्षेत्रका साथै विकासप्रेमी र समाजसेवीका रुपमा समेत परिचित थिए । उहाँ २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।
स्व गौचनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेको थिए। कांग्रेसले उनको निधनबाट एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
यसैगरी सभापति देउवाले पार्टीको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष एवं महासमिति सदस्य भोजराज श्रेष्ठकी माता चन्द्रकुमारी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । श्रेष्ठको यही कार्तिक २५ गते सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–३ स्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको हो ।
आजै सभापति देउवाले पार्टीको धनुषा कार्यसमितिका पूर्व जिल्ला सदस्य, पूर्व महासमिति सदस्य दिलिप सहगलको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । सहगलको कार्तिक २५ गते काठमाडौंमा उपचारका क्रममा ६८ वर्षको उमेरमा निधन भएको थियो । स्व सहगलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले आजै पार्टीको महिला केन्द्रीय विभाग सदस्य एवं कांग्रेस पाँचथर जिल्ला कार्यसमितिका सदस्य सावित्री गुरुङका श्रीमान् तथा पार्टीका क्रियाशील सदस्य सिद्धिराज गुरुङको निधनप्रति दुःख व्यक्त गरेको छ । गुरुङको कार्तिक २६ गते झापामा उपचारका क्रममा निधन भएको हो । स्व गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया