नेकपा विवाद मिलाउन नेताहरु सक्रिय : छलफलका लागि शंकर पोखरेल प्रचण्ड निवासमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीचको विवाद मिलाउन नेकपाका दोस्रो तहका नेताहरुले सक्रियता बढाएका छन् । अध्यक्षद्वयबीचको टकरावका कारण पार्टी फुटको संघारमा पुगेका बेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि पुग्ने गरेका छन् ।

मंगलवार नेकपा स्थायी कमिटि सदस्य समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले प्रचण्ड निवास खुमालटारमा पुगेका छन् । ओलीका खास मानिने पोखरेल नेकपाभित्रको विवाद समाधान खोज्नका लागि ओलीको तर्फबाट सक्रिय बन्दै आइरहेका छन् ।

भेटघाटका क्रममा प्रचण्डसँग पोखरेलले सहमती गरेर मात्रै सचिवालय बैठक बोलाउने बातावरण बनाउने प्रयास गरेको स्रोतले जनाएको छ । तर प्रचण्डले भने सचिवालय बैठक बसेपछि मात्रै विवाद समाधानका विकल्पहरु खोज्ने आफ्नो पुरानै अडान दोहोर्याएको स्रोतको दावी रहेको छ । यसअघि सोमवार ओलीका दूतका रुपमा खुमालटार पुगेका पार्टी महासचिव विष्णु पौडेललाई पनि प्रचण्डले सचिवालय बैठकमा नै सबै समस्याबारे छलफल गर्ने बताएका थिए ।

ओली आफूले प्रचण्डसँग सहमती गरी एजेण्डा तय गरेर मात्रै सचिवालय बैठक बोलाउने पक्षमा छन् भने प्रचण्ड सचिवालय बैठकमा नै सबै किसिमका छलफलहरु गर्ने अडानमा रहेका छन् ।

गत शनिवार प्रचण्ड सहित सचिवालयका पाँच नेताले तत्काल सचिवालय बैठक बोलाउन सहमति दिन भन्दै लिखित पत्र बुझाएका छन् । तर, ओलीले भने विधान बमोजिम बैठक बोलाउने सन्देश महासचिव मार्फत प्रचण्डसामू पुर्याउन लगाएका थिए ।

प्रचण्डले समूहले अनौपचारिक रुपमा सचिवालय बैठक बोलाई छलफल गरेको गरेको छ । गत शनिवार प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहित बहुमत सचिवालय सदस्यहरुले बैठक बसि सहमतीको प्रयास खोजेका थिए । त्यस्तै मंगलवार(आज) पनि प्रचण्डसमूहले अनौपचारिक बैठक बोलाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?