कोरोनाबाट महिला वडा सदस्यको मृत्यु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की महिला वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपाली कांग्रेसवाट प्रतिनिधित्व गर्ने ६७ वर्षीया वडा सदस्य शान्ति परियारको आज बिहान साढे १०ः०० बजे यहास्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

नेपालगन्जको घरबारी टोल निवासी परियारलाई यही कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो । उनी कात्तिक ४ गते अस्पताल भर्ना भएकी थिइन् । विभिन्न विधिवाट उपचार गर्दासमेत उनलाई बचाउन नसकिएको स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । बाहिरी जिल्लाका २१ जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् ।

यसैबीच, आजै भेरी अस्पतालमा गरीएको स्वाब परीक्षणमा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालद्धारा आज दिउँसो ३ः४५ बजे जारी गरीएको विवरणअनुसार विभिन्न जिल्लाका ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । अस्पतालका अनुसार थपिएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढी २८ जना बाँकेका रहेका छन् भने २० जना बर्दियाका छन् ।

यसैगरी बाँकेमा आजै ४४ कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा रहेका २९ पुरुष र १५ महिला निको भई घर फर्किएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमण निको हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ । स्रोत व्यक्ति श्रेष्ठका अनुसार बाँकेमा बिरामी निको हुने दर ९२ दशमलव ४२ प्रतिशत रहेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेशनमा बाँकेका २०७ र अन्य जिल्लाका १३ गरी २२० जना रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?