आईपियू गभर्निङ काउन्सीलको अधिवेशन शुरु, सभामुख सापकोटासहित तीन सांसद सहभागी

काठमाडौं । विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यबस्थापिका संघ (आईपियू ) को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशन शुरु भएको छ । नेपाली समय अनुसार गएराती शुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्नेछ ।

जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सील सदस्यकारुपमा सहभागीता जनाएका छन् । यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी रहेका छन् ।

गभर्निङ काउन्सीलको यो अधिवेशनले आईपियूका नयाँ अध्यक्ष निर्वाचित गर्नेछ । हरेक गभर्निङ काउन्सील सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ । अधिवेशनमा नेपाल सहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

यो अधिवेशनमा आईपियूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन् । आई पि यू अध्यक्षको कार्यकाल तीन बर्षको हुने छ ।

यसैबीच नेपालबाट अन्तर व्यबस्थापिका संघ (आईपियू) को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशनमा सहभागी सभामुख सापकोटासहित प्रतिनिधि सभाका सदस्य झाँक्री र राष्ट्रिय सभाका सदस्य देवले आईपियू अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?