गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्यको हत्यामा संलग्नलाई कारवाही गर्न प्रचण्डको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रमका क्रममा भएको आक्रमणमा कात्तिक ६ गते उनको हत्या भएको थियो ।

यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्सर्ना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको प्रति कार्यकारी अध्यक्षको हैसियतले समर्थन गर्दै प्रचण्डले दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन् ।

प्रचण्डले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?