अबको युग प्राविधिक शिक्षाको युग हो : प्रदेश प्रमुख शेरचन

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सामाजिक क्षेत्रमा रोटरी क्लवले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् । रोटरी क्लवले शनिवार पोखरामा आयोजना गरेको पिसीआर उपकरण र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोटरीले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे ।

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्ने उद्देश्य सहित क्लवले सञ्चालन गरेको अभियानले राम्रो प्रभाव पारेको उनको भनाई थियो । “रोटरीले पछाडि पारिएकाहरुलाई शिक्षित र दिक्षित बनाउने उद्देश्य सहित सञ्चालन गरेको कार्यक्रम सकरात्मक छ, शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ,” प्रदेश प्रमुख शेरचनले भने ।

उनले शिक्षा प्रणाली उत्पादनमूलक र व्यावसायिक हुनुपर्नेमा जोड दिए । अहिलेको शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन भइरहेकाले अबको युगको प्राविधिक शिक्षाको युग रहेको चर्चा गरे । “डिग्री हासिल गरेर व्यावहारिक ज्ञान नसिकेसम्म त्यो डिग्रीको काम छैन, पढेको शिक्षा व्यवहार उपयोगी हुनुपर्छ,” उनले भने, “सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिएर लगानी बढाएको छ ।”

सोही अवसरमा क्लवले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३३ वटा सामुदायिक विद्यालयलाई सिकाई सामग्री सहितको स्मार्ट टिभी हस्तान्तरण गरेको छ । रोटरी नेपाल शिक्षा अभियानका गण्डकी प्रदेश सचिव बाबुराम बरालले तनहुँ, कास्की, स्याङ्जा, गोरखा, बागलुङ, पर्वत, म्याग्दीका विभिन्न विद्यालयलाई सिकाई सामग्री सहित टिभी हस्तान्तरण गरिएको जानकारी दिए ।

पिसीआर उपकरण हस्तान्तरण

सोही कार्यक्रममा क्लवले तनहुँको व्यास नगरपालिकालाई पिसीआर उपकरण हस्तान्तरण गरेको छ । उक्त उपकरणको मूल्य करिब १२ लाख रहेको छ । प्रदेश प्रमुख शेरचन र रोटरी इन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले संयुक्त रुपमा उक्त उपकरण व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरे ।

रोटरीले हस्तान्तरण गरेको उपकरणले अब दमौलीमै कोरोना परीक्षण गर्न सहज हुने नगर प्रमुख न्यौपानेले बताए । दमौली अस्पताललाई उपकरण सञ्चालन गर्न अनुरोध गरिने र अस्पतालले चलाउन नमाने नगरपालिका आफैले प्रयोगशाला बनाएर उपकरण सञ्चालन गर्ने उनले बताए । “दमौली अस्पतालले मानेन भने छुट्टै प्रयोगशाला बनाएर व्यास नगरपालिकाले नै सञ्चालन गर्छ,” नगर प्रमुख न्यौपानेले भने ।

नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उक्त उपकरणबाट तीन घण्टामा आठ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । उक्त उपकरणको प्रयोग कोभिड–१९ पछि पनि गर्न सकिन्छ । “आधुनिक प्रविधको मेसिन भएकाले यसले अन्य रोगहरुको पनि परीक्षण गर्न सकिन्छ,” उनले भने । नगरप्रमुख न्यौपाने रोटरी क्लव अफ दमौलीको पूर्व अध्यक्ष रहेका र उनको सामाजिक सम्बन्धका कारण क्लवले व्यास नगरपालिकालाई उक्त उपकरण हस्तान्तरण गरेको हो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?