काभ्रेपलाञ्चोक । सूचना प्रविधि पार्कमा स्थापित सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण छापाखाना)को काम तीव्र गतिमा अघि बढिरहेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित उक्त पार्कभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण प्रक्रियाले तीव्रता पाएको हो ।
सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका सामग्री पार्कमा प्रेस स्थापना गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६/०७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको शुरुवात गरिएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताए ।
उनका अनुसार प्रेसको सम्पूर्ण काम ३३ अर्बमा सम्पन्न हुनेछ । “प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत वार्षिक रुपमा बाहिरिने १० अर्ब बच्दै जानेछ”, पौडेलले भने।
वर्षौँदेखि प्रयोगविहीन पार्कमा सुरक्षण मुद्रण केन्द्र स्थापना गरी प्रेसको काम शुरु गरिएको हो । छापाखाना स्थापनार्थ आवश्यक भवन निर्माणका लागि जमीन सम्याउने, पर्खाल निर्माण गर्ने तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माण गर्ने कामलाई तीव्रता दिइएको छ । खानेपानीका लागि एकएक लाख लिटरका खानेपानीका दुई ट्याङकीसमेत जडान गरिएका छन् । विद्युत्को अभाव भएका समयमा छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान गरिएको छ । हाल जेनेरेटर सञ्चालन गर्ने डिजेल भण्डारणका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण भएको छ ।
आज प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा तथा पनौती, बनेपा र धुलिखेलका प्रमुख भीम न्यौपाने, लक्ष्मीनरसिं वादे र अशोक ब्याञ्जुले संयुक्त रूपमा निर्माणाधीन सेक्युरिटी प्रिन्टिङ प्रेसको अवलोकन गरे । अवलोकनका क्रममा सांसद बाँस्कोटाले प्रेस स्थापनाको काममा ढिलाइ हुन नहुने बताए । “यो दीर्घकालीन राष्ट्रिय गौरवको आयोजना हो, यसको काम योजनाअनुसार निरन्तर भइरहनुपर्छ, जनशक्ति र बजेट अभाव हुन दिइने छैन” उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य बाँस्कोटाले प्रेस सञ्चालनमा आएपछि सुरक्षित छपाइका नाममा देशको अर्बौँ रुपैयाँ विदेशिनबाट रोकिने तथा सयौँ युवाले रोजगारी पाउने बताए । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री रहँदा पार्कमा सेक्युरिटी प्रिन्टिङ पे्रस स्थापना कार्यको शुरुवात गरेका हुन् । “यहाँ कस्तो प्रकारको प्रेस –मेसिन राख्ने भन्ने विषयमा विस्तृत छलफल गर्न बाँकी छ”, अनुगमनका क्रममा बाँस्कोटाले भने ।
दुई सय ५७ रोपनी जमीनमा रहेको पार्कभित्र हाल दुई ठूला भवन र सुविधासम्पन्न चार आवासीय भवनलगायत नौ भवन छन् । प्रेसका विभिन्न भवन निर्माण प्रक्रियामा एकदुई भवन भत्काउनुपर्ने पौडेलले जानकारी दिए। उनका अनुसार पे्रसका लागि दुई सय प्राविधिकसहित करीब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ ।
सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजनानुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने तथा दोस्रो चरणमा आगामी दश वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एशियाका राष्ट्रहरुलाई उपलब्ध गराउने छ । तेस्रो चरणमा आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया