काठमाडौं । प्रदेश नं ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सुरू भएको छ ।
प्रदेशको राजधानी र नामबारे विवाद भइरहेका बेला त्यसबारे छलफल गर्न आजको बैठक बसेको हो ।
आज बिहानको लागि बैठक बोलाइए पनि ११ बजेबाट मात्र बैठक शुरु भएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितीमा भएको उक्त बैठक कक्षको बाहिरी भागमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्रोतका अनुसार बैठकस्थल बाहिर व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
प्रदेश ५ को मन्त्रिपरिषद्ले प्रदेश राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेसँगै विवाद बढिरहेको छ । नाम र राजधानी तोक्नका लागि उक्त मन्त्रीपरिषद्ले गरेको प्रस्ताव प्रदेशसभामा भएकाले प्रदेशसभा बैठक समेत बोलाइएको छ ।
उक्त विषयमा विवाद बढिरहेका बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजिनामा दिएका छन् । भने आजको बैठकमा पनि उनी अनुपस्थित रहेका छन् ।
मन्त्रिपरिषद्को उक्त निर्णयका विरुद्ध बुटवल लगायतका ठाउँहरुमा विरोध र आन्दोलनहरु भइरहेका छन् । रुपन्देही प्रशासनले प्रदर्शनबाट थप घटना नघटोस भन्नका लागि आइतवारबाट ४ दिनको लागि निषेधाज्ञा समेत लागू गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया