विमान दुर्घटना: राष्ट्रपति र उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ, २८ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले युएस बंगलादेश विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा आज अपराह्न १४ः१८ बजे दुर्घटनामा परेको थियो ।उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभएको छ । उहाँले दुर्घटनाका कारणबारे गम्भीर छानविन गर्न तथा आगामी दिनमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?