काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ९ निकोसेरामा विभत्स रुपमा भेटिएका तीन वटै शवलाई पोष्टमार्टमका लागि दधिकोटमा रहेको केएससी अस्पताल लगिएको छ ।
शुक्रवार साँझ दाजुको घरमा गएका मृतक सुदीप अधिकारीका भाई सुनिल अधिकारीले उक्त घटना भएको देखेपछि प्रहरीमा खबर गरेका थिए । खबर पाउनासाथ घटनास्थल प्रहरी पुगेको थियो ।
एकै परिवारका ३ सदस्यको शव सडिसकेको अवस्थामा विभत्स रुपमा भेटिनु, घरमा पालेको सेतो रङको कुकुर समेत मृत अवस्थामा फेला परेको सो घटनामा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
सडकछेउमा रहेको उक्त घरमा विभत्स दृश्य देखेका जनप्रतिनीधि र छिमेकीले हत्याको आशंका गरेका छन् । सत्यतथ्य पत्ता लगाउन ‘फरेन्सीक विज्ञ’को टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनास्थल ‘सिल’ गरेर ‘सस्पेक्ट’ गरेको छ ।
लोकपथसँगको सम्पर्कमा घटनास्थलमा खटिएका महानगरिय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले मृतकका भाई सुनिल अधिकारी घरमा जाँदा घरको दोस्रो तल्लामा सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा छोरा सुशान्त अधिकारीको शव र त्यसभन्दा माथिल्लो तलामा बुबा सुदिप अधिकारीको शव गन्हाएको अवस्थामा भेटिएका भन्दै खबर गरेपछि तत्काल घटनास्थल पुगेको अनुसन्धान शुरु गरेको बताए । शवहरुबाट गन्ध आइरहेको कारण घटना केही दिन अघि भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीसहित सोही घरमा पालेको कुकुर पनि मृत अवस्थामा फेला परेको हो ।
घटना कस्ले, किन र कहिले गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापा बताउँछन् । “शवहरु गन्हाएको कारण केहीदिन अघि नै घटना भए जस्तो देखिन्छ । प्रहरीलाई मृतकको आफन्तले जानकारी गराए अनुसार ढोका खुल्लै हुनु, परिवारका तीन सदस्यको शव फरक फरक तलामा विभत्स अवस्थामा भेटिनु, घरमै पालेको कुकुर समेत मृत भेटिनुले घटना केही रहस्यमय देखिन्छ । तत्काल घटनाबारे केही भन्न सकिन्न अनुसन्धान भइरहेको छ, हाम्रो टोली खटिरहेको छ, सोधपुछ भइरहेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया