शुरु भयो सत्तारुढ नेकपा स्थायी कमिटी बैठक, मिल्ला त कुरो ?

काठमाडौं – गत असार १० गतेदेखि शुरु भएर पटक – पटक रोकिँदै चरम विवादका बीच साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पुन: शुरु भएको छ ।

आन्तरिक विवादमा अल्झेको सत्तारुढ पार्टीको पाँचौँ स्थायी कमिटी बैठक लामो समय स्थगित गरेपछि आज ११ बजेका लागि बोलाईएको थियो ।

गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् ।

आजको बैठकमा पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाईअन्तिम रुप दिएको प्रस्तावमाथि छलफल हुनेछ।

नेकपा स्थायी कमिटीका एक सदस्यले लोकपथलाई दिएको जानकारीअनुसार बुधवार नै स्थायी कमिटी सदस्यहरुलाई इमेल मार्फत् पिडिएफ फाईल नै पठाइएका कारण आज लामो छलफल हुनेछैन । तर पार्टीमा आफ्नो धारणा राख्न चाहने सदस्यले अध्यक्षद्वयसमामू आफ्नो धारणा राख्नेछन् ।

उक्त प्रतिवेदन अध्यक्षद्वयले अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा आज बैठकमा प्रस्तुत गर्ने ‘सेड्युल’ रहेको बुझिएको छ ।

प्रतिवेदन अध्ययनका लागि पार्टी स्थायी कमिटी सदस्यलाई यसअघि नै समय दिएका कारण आजै शुक्रवार नै बैठक टुंग्याउने तयारी भएको नेकपाका एक सचिवालय सदस्यले लोकपथलाई बताएका छन् ।

यद्यपी कार्यदलले पठाएको प्रस्तावमा वरिष्ठ नेता माधव कुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक प्रमुख जिम्मेवारीको विषय समेटिएको छैन । यसै कारण नेता नेपाल समूहले असन्तुष्टि राख्न सक्ने सम्भावना कायमै छ ।

यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार प्रसार विभाग उपप्रमुख सूर्य थापाले आजको बैठकले पार्टीको कचिङ्गल अन्त्य हुने अपेक्षा गरिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै :

२०७६ फागुन यता विभिन्न रूपमा देखा परेकाे दाउपेचयुक्त विवाद समाधान भएर केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठककाे निर्णयअनुरूप पुन: दुई अध्यक्षकाे समझदारीमा फर्केकाे छ । खासमा एकताकाे पहलकर्ता र निर्णयकर्ता दुबै उहँहरू हाे र एकता जाेगाउने समझदारी पनि दुई जना अध्यक्षहरूकै हाे । सरकारकाे प्रभावकारी संचालन र पार्टीको एकता अनि गतिशीलता पनि यसआधारमा नैनिश्चय हुनेछ ।
६ सदस्यीय कार्यदलले तयार गरेकाे प्रतिवेदनकाे कार्यान्वयनमा अध्यक्षद्वयले सहमतिमा बनाउनुभएकाे कार्ययाेजना प्रस्तावकाे एकताबद्ध कार्यान्वयन नै यसकाे आधारशीला बनेकाे छ ।
आज ११:०० बजे बस्ने स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ । गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण,सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुकाे अर्काे विकल्प पनि त छैन !

भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?