निषेधाज्ञा के हुन्छ आज रातिबाट ?

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको दर तिव्र रुपमा बढेसँगै काठमाडौं उपत्यकामा विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदैँछ ।

गत भदौ ३ गतेबाट काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लागू भएर पछिल्लोपटक फेरि गत १७ गते निषेधाज्ञा थपियो ।

करिब ४ महिना लामो लकडाउनपछि क्रमिक रुपमा सामान्य दैनिकीमा फर्कन लागेका जनता यो निषेधाज्ञाबाट फेरि चर्को समस्यामा परेको अवस्थामा अबको दिनमा लकडाउन के होला भन्ने चासो त बढेको छ नै। बढ्ता त आक्रोश नै छ ।

पछिल्लो समय प्रमुख जिल्ला अधिकारीको बैठकबाटै निषेधाज्ञा लम्ब्याईएको छ ।

आज राति १२ बजेसम्मका लागि तोकिएको निषेधाज्ञा के गर्ने भन्ने विषयमा केहि दिन अघिबाटै सरोकारवालाहरु छलफलमा जुटेका छन् । छलफलमा मिश्रित किसीमको प्रतिक्रिया आएको छ ।

यसैबीच काठमाडौं उपत्यकामा बढ्दो संक्रमणको दर कम गर्न जोरबिजोर प्रणाली लागू गर्न स्थानीय प्रशासनलाई नगरपालिका फोरमले सुझाव दिएको छ । उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्नुको विकल्प नभएको भन्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको हो ।

आज बसेको फोरमको बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गरेर जनजीवनलाई सहज पार्न सार्वजनिक यातायात बाहेकको अन्य सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ।

अबका दिनमा निषेधाज्ञा खुकुलो बनाएतापनि सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ हुनुपर्ने पनि सरोकारवालाको सुझाव छ ।

यसअघि प्रहरी अधिकारीहरुले अब पनि यहि स्वरुपमा लकडाउन भए मानिसहरुको आक्रोश थेग्न गा-हो परिस्थिती सिर्जना हुने भन्दै विकलपबारे सोच्नुपर्ने बताएको थियो ।

प्राप्त जानकारी अनुसार मूलत : 

काठमाडौं भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्न

उपत्यकाको वडा कार्यालयबाट हुने सेवा सञ्चालन

सेना परिचालन गरेरै भएपनि नाकालाई कडाइ गर्न

उपत्यकाभित्रको दैनिकी क्रमिक रुपमा सहज पार्न सुझाव आएका छन् ।

यद्यपी कोरोना संक्रमण दर नघटेको र जोखिम नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ । मन्त्रालयले अबको एक हप्ता निषेधाज्ञा नलम्ब्याएको खण्डमा अर्को अप्ठेरो स्थिती आउनसक्ने भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको बुझिएको छ ।

जनस्वास्थ्यको हिसाबले निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताएको मन्त्रालयले पूर्ण रुपमा लकडाउन खोल्दा अस्पताल र चिकित्सकहरुलाई संक्रमित व्यवस्थापन गर्न र भएका पूर्वाधारबाट समस्या व्यवस्थापन गर्न कठिनाई हुने बताएको छ ।

छलफलमा सहभागि केहि विज्ञहरुले स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने भन्दै दुई सय बढी उपचाररत संक्रमित ‘एक्टिभ केस’ भएका ठाउँमा लकडाउन र पाँच सय बढी उपचाररत संक्रमित ‘एक्टिभ केस’ भएका ठाउँमा ‘कर्फ्यु’ नै लगाउनुपर्ने मत राखेका छन् ।

निषेधाज्ञाको विकल्पबारे नसोचेको भन्दै सरकारको चर्को आलोचना भइरहेको कारण पनि सरकार निषेधाज्ञालाई खुकुलो बनाएर लैजाने तयारीमा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?