काठमाडौं । भायानेट कम्युनिकेसन्स नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदार बनेको छ ।
नेपालमा आयोजना हुने ठूला अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामध्ये एक मानिएको पीएमजीओका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ ।
व्यावसायिक ई–स्पोर्ट्समा खेलाडीको सीप र निर्णय क्षमतासँगै इन्टरनेटको स्थिरता, निरन्तरता र न्यून विलम्बता पनि महत्वपूर्ण मानिन्छ । खेलका क्रममा हुने कनेक्टिभिटी अवरोधले खेलको नतिजामै असर पार्न सक्ने भएकाले प्रतियोगिताका लागि भरपर्दो इन्टरनेट आवश्यक हुन्छ ।
भायानेटका अनुसार पीएमजीओजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि इन्टरनेट साझेदारका रूपमा छनोट हुनु कम्पनीको नेटवर्क क्षमता र विश्वसनीयताको प्रमाण हो ।
ई–स्पोर्ट्स क्षेत्रमा भायानेटको यो पहिलो सहकार्य भने होइन । यसअघि कम्पनीले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) मा पनि आधिकारिक इन्टरनेट साझेदारका रूपमा सेवा प्रदान गरेको थियो ।
पीएमजीओसँगको साझेदारीमार्फत भायानेटले अन्तर्राष्ट्रियस्तरका गेमिङ प्रतियोगिता सञ्चालनका लागि आवश्यक नेटवर्क विश्वसनीयता, स्थिरता र न्यून विलम्बतायुक्त कनेक्टिभिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । साथै, यस सहकार्यले नेपालको गेमिङ तथा ई–स्पोर्ट्स क्षेत्रमा कम्पनीको संलग्नतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया