जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न प्रदेशस्थित अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुलाई निर्देशन दिएका छन्। अस्पतालहरुको वर्तमान अवस्था र अगामी दिनमा गर्नुपर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न मेडिकल सुपरिटेन्डेन्टहरुसहितको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् ।
उहाँले गत आर्थिक वर्षमा प्रदेश सरकारले अस्पतालको सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको उल्लेख गर्नु हुँदै चालु आवमा पठाइएको रकमको शतप्रतिशत सदुपयोग गर्न र थप आवश्यक सुधारबारे सुझाव दिन आग्रह समेत गरे। कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्नु हुँदै उनले अग्रणी भूमिकामा रहेको स्वास्थ्यकर्मी चिकित्सकहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रहसमेत गरे ।
कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले अस्पतालहरुको सुधारमा प्रदेश सरकार हरसम्भव लगानी गर्न तयार रहेको उल्लेख गर्दै कोरोना महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । सङ्घीय सांसद एवं विज्ञ समूहका सदस्य डा सुरेन्द्र यादवले अस्पतालहरुमा रहेको स्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्न सुझाव दिनुभयो । जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले प्रादेशिक ल्याबको आफनै भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा गजेन्द्र नारायणसिंह अस्पताल राजविराज, भारदह अस्पताल, लहान अस्पताल, सिरहा अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल, मलङ्गवा अस्पताल, चन्द्रपुर अस्पताल, कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्डेन्टहरुले अस्पतालको वर्तमान अवस्था र अगामी दिनमा गर्नु पर्ने सुधारहरुबारे प्रस्तुती गरेका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया