राष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, २३ फागुन । आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । यही फागुन २९ गतेका लागि तय गरिएको राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।निर्वाचन आयोगले राष्ट्रपति उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि २ बजेसम्मको लागि समय तोकेको छ ।त्यस्तै आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रपति निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका राजनीति दलहरुले उम्मेदवारी दर्ता गर्न सक्ने जानकारी दिए ।यसैगरी बाम गठबन्धनले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । मंगलबार राति बसेको एमाले स्थानीय समिति बैठकले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।यता कांग्रेसले भने कसलाई राष्ट्रपति उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गरेको छैन । यसबारे छलफल भइरहेको कांग्रेस नेताहरुले जनाएका छन् ।राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?