प्रदेश १ को सरकारले सार्वजनिक गर्यो सय दिने कार्यक्रम

विराटनगर, २२ फागुन – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन, स्थायित्व र समृद्धिका लागि सरकार र प्रदेशसभा प्रतिबद्ध रहेको बताउनुभएको छ ।प्रदेश सरकारको १०० दिने कार्यक्रम सार्वजनिक गरिएको कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राईले गर्दै चुस्त एवम् प्रभावकारी रुपमा कार्य सञ्चालन गर्न र नागरिकका समस्यालाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो ।आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकारको सय दिनको कार्यक्रमलाई सार्वजनिक गर्दै मन्त्रालयको भौतिक संरचना, वित्तीय साधनस्रोत र मानव संसाधनको विकासमा समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै सरकारको आवश्यक कानून, अल्पकालीन नीति तथा रणनीति तयार पारी सोको कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।उहाँका अनुसार प्रत्यक्ष रुपमा सरोकार राख्ने निकायहरुमा गुनासो सुन्ने अधिकारी, नागरिक हेल्प डेस्क, वडापत्र, विद्युतीय डिस्प्ले सूचना बोर्ड र सूचना केन्द्र स्थापना गर्नुका साथै महिनामा एकपटक नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने छ ।सरकारको सय दिने कार्यक्रममा जग्गामा चक्लाबन्दी नीति, उत्पादकत्व वृद्धि, कृषि, मासु, अण्डाको बजारीकरण, सहकारीको माध्यमबाट आयआर्जनको नीतिको अवलम्बन गरिने उल्लेख छ ।ग्रामीण क्षेत्रमा चिकित्सकलाई बस्न प्रोत्साहन गर्ने, स्वास्थ्य शिविरको सञ्चालन गर्ने, विद्यार्थी भर्ना शतप्रतिशत पु¥याउने, दक्ष जनशक्ति उत्पादनमा जोड दिने, प्रत्येक जिल्लामा एक–एक प्राविधिक शिक्षालयको स्थापना गर्ने, स्वास्थ्य बिमा लागू गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, सबै रीतिरिवाज र भाषा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम पनि समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?