बजारमा भीड नगर्नूस् भन्दै स्वास्थ्य मन्त्रालयले दियो कोरोनाबाट जोगिने यस्ता टिप्स !

काठमाडौं । काठमाण्डौं उपत्यकासहित घनाबस्ती भएका शहरहरूमा कोरोना संक्रमितहरूको संख्या बढीरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमण बढ्दै गएपनि पसल, कार्यालय, सार्वजनिक स्थान, सवारी साधनमा र खासगरी लाइनमा बस्दा कतिपय व्यक्तिहरुले जनस्वास्थ्यका मापदण्ड अपनाएको नदेखिएको भन्दै सरकारले नियम पालना गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले भन्यो, ‘हामी सबै सचेत हुन जरुरी छ, विशेष गरी खाद्यान्न, तरकारी र फलफूल पसलमा हामी केही नभएको जस्तो गरी अर्को व्यक्तिसँग नजिकै गएर सामान किन्न हतार गरिररहेको भेटिन्छौँ, बिना सावधानी अपनाई हामी यातायातका साधनमा बसिरहेका छँैं । पाहुना वा साथीभाईसँग हुलहाल गरी चाडपर्व मनाइरहेका छौँ, कार्यालयहरूमा अझैपनि बैठक गर्ने, सभा सम्मेलन गर्ने कार्यलाई निरन्तरता दिईएको पाइन्छ, यस्तै यस्तै स–साना व्यवहारहरू र हतार गर्ने बानीले नै हामीलाई कोरोनाको जोखिममा पारिरहेको छ र संक्रमण बढीरहेको छ । कोरोनाबाट बच्ने स्वास्थ्य सुरक्षाका उपाय अपनाउन हामी सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

घरबाट बाहिर निस्कदाँ अनिवार्य नाक मुख छोपिने गरी मास्क लगाऔं ।

कार्यालय, पसल, यातायातका साधन वा जहाँपनि एक अर्कोसँग सधै कम्तिमा दुई मिटर टाढा बसौं ।

कुनैपनि बस्तु वा सतह छोएपछि, कार्यलय वा घर भित्र छिर्दा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्डसम्म हात धोऔं वा हात फोहर छैन भने अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गरौं ।

जथाभावी नथुकौँ ।

तीन प्रभावकारी स्वास्थ्य सुरक्षाका अभ्यासहरूसँगै

अति आवश्यक काम नपरी घरबाट बाहिर नजाऔं वा एक ठाँउबाट अर्को ठाँउको यात्रा नगरौं ।

घरमा पाहुना नबोलाऔं र पाहुना बन्न पनि नजाऔं ।

यदि कोरोना संक्रमित स्थानबाट आउनु भएको छ वा विदेशबाट आउनु भएको छ भने अवश्य १४ दिनसम्म सरकारले बनाएको मापदण्ड पालना गरी क्वारेन्टाइनमा बसौँ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालउका प्रवक्ता डा. जागेश्वर गौतले भने, ‘वृृद्धवृद्धा, सुगर, ब्लडप्रेसर, दम, क्यान्सर, मुटुरोग, क्षयरोग जस्ता समस्या भएका व्यक्तिहरूमा रोगसँग लड्ने क्षमता कम हुने भएकोले उहाँहरू कोरोनाको बढी जोखिममा रहेको म फेरी दोहर्याउन चाहन्छु । त्यसैले आफ्नो घरका वृद्धवृृद्धा वा स्वास्थ्य समस्या भएका सदस्यहरूको सु–स्वास्थ्यका लागि हामी सजग हुनुपर्छ । त्यसैले कोरोनाको संक्रमण घरभित्र आउन नदिन कृपया अघि भनिएका सबै सुरक्षाका उपयाहरूको नबिर्सि पालना गरौंँ । आफूपनि बचौँ घरपरिवारलाई पनि बचाऔँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?