बालेन सरकारको कामकारबाहीलाई प्रचण्डले दिए ‘हिन्दी जासुसी फिल्म’ को संज्ञा

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, सङ्घीयता र समावेशिता ल्याउने तथा पूर्वाधार र ऊर्जा क्षेत्रमा विकास गर्ने नेताहरूलाई नै बदमास र अपराधीका रूपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो ३५ वर्षमा देशमा केही पनि भएन भन्ने भाष्य गलत र विवेकहीन भएको बताएका हुन् ।

उनले गणतन्त्र, सङ्घीयता र समावेशिता ल्याउनेहरूलाई काम गर्ने उचित वातावरण दिइएको भए अहिलेसम्म धेरै विकास गर्न सकिने बताए । भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा आफूहरूलाई सरकारबाट हटाइएको उनको दाबी थियो ।

प्रचण्डले वर्तमान बालेन नेतृत्वको सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै भएको टिप्पणी गरे । कुन बेला कुन पत्रकार पक्राउ पर्ने र कसले कहिले आक्रमण भोग्नुपर्ने हो भन्ने अनिश्चितता रहेको उनको भनाइ थियो ।

उनले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको तर बिचौलियाहरूले आफूलाई सरकारबाट हटाएको दाबी गरे ।

आफूहरूलाई सरकारबाट हटाएपछि देश दुर्घटनातर्फ गएको भन्दै प्रचण्डले त्यसबेला नै संविधान र लोकतन्त्रको मर्मविपरीत काम भइरहेको भनेर खबरदारी गरेको स्मरण गरे ।

अहिलेको सरकारको कामकारबाही पनि अनौठो र अप्रत्याशित रहेको उनको टिप्पणी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?