पोल्यान्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार : ६ जनाको मृत्यु, १५ जना घाइते

लोकपथ
35
Shares

काठमाडौं । पोल्यान्डको ऐतिहासिक सहर क्राकोमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक संदिग्धलाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो क्राकोको मुख्य बजार क्षेत्रमा भएको गोलीकाण्डमा चार महिला र दुई पुरुषको मृत्यु भएको हो । घाइतेमध्ये पाँच जना विदेशी नागरिक रहेको पोल्यान्डका अधिकारीहरूले बताएका छन् ।

घटनापछि प्रहरीले संदिग्धको घरमा खोजी गर्दा थप तीन जनाको शव फेला पारेको छ । प्रधानमन्त्री डोनाल्ड टस्कका अनुसार ओस्त्रोवियेत्स स्विएन्तोक्रिस्कीस्थित घरमा दुई महिला र एक पुरुषको शव भेटिएको हो । उनीहरू संदिग्धका नजिकका परिवारका सदस्य हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, ती घटनाबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार संदिग्धले कारबाट गोली चलाउँदै क्राकोको मुख्य बजार क्षेत्रमा रहेका मानिसहरूलाई निशाना बनाएका थिए । स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घटनाका बेला बजार क्षेत्रमा मानिसहरूको चहलपहल थियो । गोली चलेपछि त्रसित मानिसहरू नजिकैका पसल र रेस्टुरेन्टमा लुक्न पुगेका थिए । प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा भागदौड मच्चिएको थियो ।

प्रहरीले संदिग्धलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको थियो । त्यसपछि घाइते अवस्थामा उनलाई पक्राउ गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । संदिग्ध पोल्यान्डकै नागरिक रहेको र उनको कारबाट अन्य हतियार तथा ठूलो परिमाणमा गोलीगट्ठा फेला परेको प्रहरीले जनाएको छ ।

पोल्यान्डका गृहमन्त्री मार्सिन किएर्विन्स्कीले आक्रमणकारी दक्षिणपन्थी अतिवादी विचारधाराबाट प्रभावित भएको हुन सक्ने प्रारम्भिक संकेत देखिएको बताएका छन् । तर आक्रमणको वास्तविक उद्देश्य र पृष्ठभूमि भने खुल्न बाँकी छ ।

घटनाको अनुसन्धानमा प्रहरीसँगै पोल्यान्डको आन्तरिक सुरक्षा निकाय पनि संलग्न भएको छ । संदिग्धको घरमा थप तीन जनाको शव भेटिएपछि अनुसन्धानलाई थप विस्तार गरिएको छ ।

घटनाबारे जानकारी लिन प्रधानमन्त्री टस्क क्राको पुगेका थिए । उनले घटनास्थलमा तत्काल पुगेर आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रहरीको कार्यको प्रशंसा गरेका छन् । उनका अनुसार गोली चलेको सूचना प्राप्त भएको करिब तीन मिनेटमै प्रहरीले संदिग्धविरुद्ध कारबाही गरेको थियो ।

घटनापछि क्राकोमा शोकको वातावरण छाएको छ । सहरका मेयरले बुधबारसम्मका लागि शोक अवधि घोषणा गरेका छन् । पोल्यान्डका राष्ट्रपति कारोल नाभ्रोस्कीले पनि नोभेम्बर ८ र ९ मा राष्ट्रिय शोक घोषणा गर्ने बताएका छन् ।

राष्ट्रपति नाभ्रोस्कीले घटनाबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै नागरिकको सुरक्षा सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली संघकी विदेशनीति प्रमुख काया कलासले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

पोल्यान्ड युरोपेली संघ र नेटोको सदस्य राष्ट्र हो । करिब ३ करोड ८० लाख जनसंख्या रहेको पोल्यान्डमा सामूहिक गोलीकाण्डका घटना तुलनात्मक रूपमा दुर्लभ मानिन्छन् । यद्यपि, पछिल्लो समय विद्यालयहरूमा भएका चक्कु आक्रमणलगायतका घटनाले देशमा हिंसात्मक अतिवादबारे चिन्ता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?