तिहारमा प्लास्टिकका फूलमाला बिक्री रोक्न पोखरामा बजार अनुगमन तीव्र

लोकपथ
14
Shares

काठमाडौं । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमाला बिक्री तथा प्रयोग रोक्न बजार अनुगमनलाई तीव्र बनाएको छ । महानगरले कृत्रिम फूलमालाको सट्टा स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गरेको छ ।

सरकारले प्लास्टिकका फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन बढाएको हो ।

महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरपालिका–१ र २ का विन्ध्यवासिनी तथा बगर क्षेत्रका नौ वटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ६ हजार २८० रुपैयाँ बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सजावटका सामग्री नष्ट गरिएको छ ।

अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल नभएका भाइमसला र रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको भेटिएको कडरियाले बताए । ती सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको उनले जानकारी दिए ।

महानगरले विगत तीन वर्षदेखि प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाउन अभियान सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि सूचना जारी गरेर त्यस्ता सामग्री बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको थियो ।

महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा भएको अनुगमनका क्रममा व्यवसायीलाई कानुन र मापदण्ड पालना गर्न, सामानको गुणस्तर र मूल्य स्पष्ट राख्न तथा म्याद नाघेका सामग्री बिक्री नगर्न सचेत गराइएको थियो ।

उपप्रमुख गुरुङले प्लास्टिकका फूलमालाले वातावरण प्रदूषण बढाउने भएकाले यसको प्रयोग रोक्न आवश्यक रहेको बताइन् । तिहारमा यस्ता सामग्रीको बिक्री बढ्न सक्ने भएकाले अनुगमनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

उनका अनुसार महानगरले कृत्रिम फूलमालाको विकल्पमा स्थानीय किसानले उत्पादन गरेका प्राकृतिक फूलमाला प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । फूलखेती गर्ने किसानलाई अनुदानलगायत सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।

वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकका फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धविपरीत काम गरेमा कानुनअनुसार जरिवाना हुने व्यवस्था छ ।

महानगरले वातावरण संरक्षण, उपभोक्ताको हित र स्थानीय फूल उत्पादक किसानलाई प्रोत्साहन गर्न आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?