जनैपूर्णिमामा बिदा दिइनुपर्छः अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले हिन्दूहरूको महत्त्वपूर्ण पर्व जनैपूर्णिमामा दिइँदै आएको बिदा हटाइनु दुःखद र खेदपूर्ण भएको टिप्पणी गरेका छन् । साविकमा जनैपूर्णिमामा दिइँदै आएको सार्वजनिक बिदालाई निरन्तरता दिनु अनिवार्य रहेको उनको भनाइ छ ।

‘हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक महान पर्व जनैपूर्णिमा, रक्षाबन्धन वा राखी पर्वको बहुआयामिक महत्व छ । यज्ञोपवित (जनै) तथा रक्षासूत्र धारण गरी रक्षा र शक्ति प्राप्त गर्ने विशेष पर्व भएकोले समग्र हिन्दू जनै धारण गर्ने समूदायका लागि यो पर्व अत्यन्त महत्वपूर्ण छ’, सोमबार परेको जनैपूर्णिको अवसरमा शुभकामनासहितको आफ्नो धारणा सार्वजनिक गर्दै केसीले भनेका छन् ।

भविष्य पुराणका अनुसार देवता र असुरहरूबीचको युद्धमा पराजयको परिणामस्वरूप, देवताहरूले राज–पाठ सबै युद्धमा गुमाएपछि पुनः प्राप्त गर्ने इच्छाअनुरुप देवराज इन्द्र, देवताहरूका गुरू बृहस्पतिसँग मद्दत मागेको र गुरु बृहस्पतिले श्रावण महिना पूर्णिमाको सूर्योदयमा रक्षाबन्धन गराई शक्ति प्रदान गरेको हुनाले जनैपूर्णिमाको पर्व शास्त्रोक्त परम्परामा अत्यन्त महत्वूर्ण रहेको छ ।

जनै साधारण धागो नभइ लामो अनुष्ठानका साथ आचार्यहरूले वैदिक मन्त्रोच्चारणका प्रतिष्ठा गरेपछि मात्र जनैले पवित्रता र आध्यात्मिक शक्ति पाउँछ भन्ने वैदिक मान्यता रहेको बताउँदै उनले भनेका छन्, ‘विशेष तरिकाले बाटेर शिखा बनाएपछि मात्र जनै तयार हुन्छ । जनैमा रहने छवटा शिखाका ६ डोरामध्ये एकातिर को तीनवटा डोराको शिखा ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को तीनवटा डोराको शिखा लाई कर्म, उपासना र ज्ञानको योगको रूपमा मानिन्छ । यसै पर्वमा महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेको हुनाले यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । नेवार समुदायले यस पर्वलाई ‘गुन्हु पुन्ही’ को रुपमा मनाउँछन् । तराईका दिदीबहिनीहरूले दाजुभाईलाई राखी बन्धन गरी यसै पर्वमा आफ्ना दाजुभाईहरूको शक्ति , स्वास्थ्य र सामथ्र्यको कामना गर्दछन् । तान्त्रिक विधिका अनुष्ठानहरूमा धामी–झाँक्रीको दीक्षा लिने र गोसाईंकुण्ड जाने पर्वको रुपमा पनि यसको महत्व छ ।

भारतभरि पनि जनै पूर्णिमाको आ–आफ्नै प्रकारको तर उच्च महत्व छ । उत्तराञ्चलमा श्रावणी, महाराष्ट्रमा नरिवल पूर्णिमा, राजस्थानमा चूडाराखी पर्व, दक्षिण भारतका धेरै राज्यमा ‘अवनि अवित्तम’ को रुपमा पनि यस पर्वलाई विशेष रुपमा मनाएको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?