कहिले घट्छ ओली प्रचण्डबीचको दूरी ? कोरोना संक्रमितको बढ्दो ग्राफले खोजिरहेछ ‘सहमती’

काठमाडौं – कोरोनाको कहर बढेको छ । उधुमै बढेको छ । पंक्तिकारले भनेको /सोचेको /अनुमान गरेको /कल्पना गरेको होईन । कसैले पत्याउनु /नपत्याउनुसँग पनि पंक्तिकारलाई मतलब छैन । किनकी जनताले पत्याईहाल्छन् नि भनेर शिर्ष नेताले हरेक पटक झुठ बोलेका छन् । ए ! झुठ कुरा किन बोलेको भन्न सक्ने ताकत नभएका जनताले के गरुन्  ? पत्याउनै पर्‍यो । एक दिन एउटा कुरा बोलेर केही घण्टामा नै ‘यू टर्न’ लिने शीर्ष नेताहरुको शंकास्पद चरीत्रको परिणाम बरु हिजो भन्दा आज भयावह बन्यो । र, अवश्य आजभन्दा भोली डरलाग्दो बन्दैछ । समुदायस्तरमा संक्रमण देखिन थालेको छ । लक्षणसहितका बिरामी बढेका छन् । शासकहरु उन्मत्त साँढे झैँ हुन छोडेका छैनन् । जनता कोरोना संक्रमण बढ्यो रे भन्दा जीउमा काँडा उमारेर बसेका छन् ।

धेरै होईन एक साता अगाडीको फाईल हेरौँ : 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (शनिवार) नेपालमा कोरोनाको अद्यावधिक विवरण अपडेट गराउँदै भन्यो, ” नेपालमा केहि क्षेत्रमा खुलाइएको लकडाउनका पछि अर्थात् साउन ७ गतेदेखि साउन १७ गतेसम्मको अवधीमा नेपालमा शून्य दशमलव ८ प्रतिशतले कोरोना संक्रमणको दर बढ्यो ।”

यो ख्यालख्याल गर्ने कुरा होईन, विज्ञहरुले यसअघि नै परीक्षणको दायरा बढाऔँ भनिरहेका छन् ।

केहि विज्ञले त खुलेरै सरकारसँगको वार्तामा आफूहरुले यहि कुरा राखेको तर सरकारले परीक्षणको दायरा नै नबढाईकन संक्रमित घटेको मिथ्या तथ्याङ्क देखाएपछि लाज लागेकोले त्यसपछिको बैठकमा उपस्थित नभएको अभिव्यक्ति पनि सार्वजनिक रुपमा नै दिईसकेका छन् । यसले पनि सरकारको लाज लजाएन ।

प्रष्टै हुन्छ । करिव ४ महिना लामो लकडाउनमा घरभित्रै थुनिएका नागरिक अब घर बाहिर आउँदा यो भयावह बढ्न थाल्यो भने के हुन्छ ? यसअघि एकजना सरकारी चिकित्सकले पंक्तिकारसँग लाईभ अन्तर्वार्ताको क्रममा भनेका थिए, “सरकारले हामीले सुझाएका हरेक विकल्पको टाईमिङ नै क्याच गर्दैन । लकडाउन के का लागि ? बाढी आउनुपूर्व बस्ती सार्नको लागि । हामीले सजिलो गरी सरकारका सम्बन्धित अधिकारीसँग घण्टौँ खर्चेर भनेका थियौँ । बाढी अवश्य आउँछ । त्यसबाट हुनसक्ने प्रभावका विभिन्न चरणमा योजना बनाउने सम्बन्धमा कुरा गरेर म लगायत अन्य विभिन्न विषय र क्षेत्रका दिग्गज व्यक्ति घर फर्कियौँ । भरे टिभीमा अनलाईनमा समाचार आउँछ , दुई अध्यक्षको लडाईं, कित्ताकाँट, गुट उपगुट, भेला, कोठे बैठक, स्थगित, अन्यौलता के-के पो हो । धत् ।”

धेरै महत्वपूर्ण भीडभाड हुने स्थान सरकारले खुल्ला नगर्दै यस्तो हविगत छ भने तपाई पक्ष विपक्षमा नलागीकन आँखा चिम्म गरेर सोच्नुहोस् त ! हामी कति कहालिलाग्दो स्थितीमा पुग्दैछौँ । न कुनै नियम छ । न कसैलाई सरोकार छ । न नियम कानूनको कार्यान्वयन छ । न अनुगमन  न त कारवाही । सरकार हरेक दिनको ४ बजेर केही मिनेटमा उदाउँछ अनि एउटा पोल्ने राप दिएर एक दुई वटा अनुरोध पढेर बिदा हुन्छ ।

अब सत्ता हाँक्ने हेरौँ  : 
तपाई धेरैले बुझ्नुभएको छ, नेपालको राजनीतिमा अनेकन कुरा पदार्पण भएको गत वैशाख देखि हो । त्यतिबेला थामथुम पारिएको अन्तरकलह अहिले आएर गत असार १० गतेदेखि जारी पाचौँ स्थायी कमिटी बैठकमा छताछुल्ल भयो ।

त्यसपछि ‘सुखी नेपाली समृद्ध नेपालको’ सपना देखाएको सरकार चलाईरहेका दुई अध्यक्षबीचको जुहारीले जनता चिढीएका छन् । राजनीतिबाट वाक्क भएका छन् । नेतृत्वसँग चित्त दुखाएका छन् । आक्रोशका ज्वाराभाटा ब्यूतिएको छ ।

मनसुन सक्रिय भएसँगै आईपरेको प्राकृतिक विपत्ति बाढी पहिरो डुवानले निम्त्याएको भयावह परिणामका बीच कोरोनाको कहर सहेका नेतालीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामक जेट हाँकेका दुई पाईलटबीच ‘ड्राईभिङ सिटमा’ बसेर स्टेरीङ तानातान हुँदा ‘सेफ ल्याण्डिङ’ मा नै शंका गरेर नजर डुलाएका जनता कठै ! भन्ने भावसहित हेरिरहेका छन् ।

यो नाङ्गो नाचको पराकाष्टा कहिलेसम्म चल्ने हो थाहा छैन । बरु प्रमुख प्रतिपक्षी दल र अन्य साना दलको हुर्मत लिने गरी सत्ताको दम्भ देखाउने काम संसदीय मर्यादा विपरीत भएका घटना ताजै छन् । जनतालाई यो सहमतिको प्रयास हो । घनिभूत छलफल हो भन्दै पावरको लडाईमा लीन भएकोले नै कोरोनाको संख्या बढ्नापनि शीर्ष तहले बेमतलवी चरीत्र देखाएको हो ।

ओली-प्रचण्ड विवाद कहिले टुंगिन्छ ?
सत्तारुढ नेपाल कमयुनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयले एकले दोस्रोलाई निर्मम ढंगले आरोप प्रत्यारोप लगाउने, विवादास्पद अभिव्यक्ति दिने, सहमतिको वातावरण बनाउने भन्दापनि आ-आफ्नो अडानका कारण गत असार १० गतेदेखि जारी पार्टीको स्थायी कमिटी बैठक दिशाहीन बनेको छ ।

एक साताअघि आफ्नो कित्तामा रहेका पार्टी उपाध्यक्ष वामदेव गौतमले दुबै अध्यक्षलाई भन्दै ल्याएको विकल्पले झस्किएका प्रचण्ड अहिले केहि रक्षात्मक बन्न थालेको प्रष्टै हो । त्यसैले पनि आज आईतवारको यी दुई अध्यक्षको बैठकबाट ग्रिन सिग्नल आउँछ कि भनेर कुरेकाहरु निराश भएका छन् । करिव तीन घण्टा लामो छलफलले पनि कुनै निस्कर्ष निकाल्न सकेन ।

आ-आफ्नै अडानमा टसको मस नभएपछि सकोस् पनि कसरी ?

गत साउन १३ गते ओलीले एकपक्षीय रुपमा बैठक स्थगन गरेको र पूर्वनिर्धारित कार्यतालिका बमोजिक प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरुसहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि भएको यो भेटमा प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका थिए भने ओली संसदीय दलका उपनेता सुवास नेम्वाङसहित बसेका थिए ।

नेताहरु सोमवार पुनः छलफलमा बस्ने गरी छुटेका छन् । तर सचिवालयका एक सदस्यले केहि सकारात्मक देखिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?